साहित्य

कवि शिरोमणिको सम्झनामा कविता प्रतियोगिता

पोखरा । कवि शिरोमणि लेखनाथ पौड्यालको १३६औँ जन्मजयन्तीका अवसरमा लेखनाथ उद्योग वाणिज्य सङ्घ, कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समिति र लेखनाथ साहित्य प्रतिष्ठानद्वारा आयोजित राष्ट्रियस्तरको खुला कविता प्रतियोगितामा संयोग बस्याल प्रथम भएका छन् ।

प्रतियोगिताका लागि छनोट भएका २५ कवितामध्ये आज कविको जन्म गाउँ अर्घौं अर्चलेमा भएको वाचन प्रतियोगितामा छविलाल आचार्य द्वितीय र तारानाथ पराजुली तृतीय भएका छन् । प्रतियोगितामा पोषराज पौडेल, इन्द्र राना प्रतिक, सुरक्षा देवकोटा र प्रकाश आचार्यले सान्त्वना स्थान प्राप्त गरेका छन् । प्रतियोगिताका विजयीलाई भोलिदेखि डाँडाको नाकमा शुरु हुने लेखनाथ महोत्सवका अवसरमा कविता वाचन गराएर सोही मञ्चबाट पुरस्कार प्रदान गरिने कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेले जानकारी दिए ।

प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः १५ हजार, ११ हजार, सात हजार र तीन हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ । कार्यक्रममा प्राज्ञ हरिदेवी कोइरालाले कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्ती तथा लेखनाथ महोत्सवसँग जोडेर आयोजित राष्ट्रियस्तरको कविता प्रतियोगिताले अर्घौंअर्चलेलाई साहित्यिक तीर्थस्थलका रुपमा विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त दिए ।