पत्रपत्रिका

भिरालो र कमजोर जमिन भएका कारण कालिकोटका विभिन्न स्थान पहिरोको जोखीममा

कालीकोट । कालीकोट जिल्ला पहिरोको उच्च जोखिममा रहेको छ । जिल्लाका विभिन्न निकायले गरेको अध्ययनले कालीकोटका विभिन्न ठाउँहरु पहिरोको उच्च जोखिममा रहेको पाइएको हो ।

जिल्लाका सबै स्थानीय तहको भौगोलिक अवस्थालाई अध्ययन गर्दा कालीकोट पहिरोको उच्च जोखिममा रहेको खानेपानी सिचाई तथा ऊर्जा बिकास कार्यालयले जनाएको छ । जिल्लाको भौगोलिक अवस्था पनि भिरालो र कमजोर जमिन भएका कारणले पहिरोको खतरा वढिरहेको कार्यालय प्रमुख मंगल शाहीले बताएका छन् ।

उनका अनुसार जिल्लाका रास्कोट नगरपालिकाभित्रको वडा ७ र ८ पहिरोको उच्च जोखिममा रहेका छन् । वर्षाका वेला मात्र होइन हिउँदका महिनामा पनि पानी पर्ने बितिकै पहिरो बग्ने ठाउँ भएकाले पहिरो रोकथामको योजना चाहिने उनको भनाइ छ । रास्कोटका वडा १ र २ पनि त्यतिकै पहिरोको जोखिममा छन् ।

कसरी हुन्छ पहिरो नियन्त्रणको योजना स्थानीय सरकार र आफ्नो कार्यालयले तत्काल नगरेर प्राकृतिक रुपमा सुन्दर भूमि भएको रास्कोट क्षेत्रको जमिन पहिरोमा परिणत हुने खतरा रहेको उनले बताए । यस्तै पलाँता गाउँपालिकामा पनि पहिरोको खतरा बढी छ । पलाँताका धेरै वस्ती पहिरोको जोखिममा रहेको आफूले पाएको बताएका छन् ।

कार्यालय प्रमुख शाहीले पचाँलझरना गाउँपालिका वडा ५ को खार्दुको एक वस्तीले प्रत्येक वर्ष ठाउँ परिवर्तन गरिरहेको आफूले सूचना पाएको जानकारी गराए । र्खादुमा बिपदको क्षेत्रमा काम गरिरहेको मिसनस्ट र किर्डाक नेपालले धेरै पटक भौगोलिक अवस्थाको मापन गरेर वस्ती स्थानान्तरणको पहल गरेको थियो ।

वस्ती सार्ने बिषयमा सरकारले चासो नदिएका कारणले त्यहाँका नागरिक जोखिम मोलेर पहिरो प्रभावित क्षेत्रमा वस्न वाध्य भएको किर्डाक नेपाल कालीकोटका जिल्ला संयोजक तुलाराम पाण्डेले वताए । जिल्लाको नहरीनाथ गाउँपालिका वडा ६, ७, ८ र ९ पनि पहिरोको उच्च जोखिमा रहेको बिपद पूर्व तयारी योजनामा उल्लेख छ ।

शुभकालिका गाउँपालिका वडा ८ को समाल गाउँ, महावैको कुनीगाउँ, तिलागुफा नगरपालिका वडा ७ र ८ साविकको छाप्रे वस्ती यस्तै सान्नीत्रिवेणी गाउँपालिकाको वडा ४ र ५ पहिरोको उच्च जोखि क्षेत्रका रुपमा किटान गरिएका छन् । जिल्ला बिपद् व्यवस्थापन समितिले एक महिना अगाडि सार्वजनिक गरेको तथ्यांकले पनि पहिरोका हिसावले कालीकोटका धेरै वस्तीमा उच्च जोखिममा रहेकाले समयमै ध्यान पुर्याउन आग्रह गरेको थियो ।

प्रत्येक वर्ष वन्ने प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको बिपद् ब्यवस्थापन समितिले बिपद् रेखांकन गर्ने गरेको छ । त्यसमा पनि पहिरो पहिलो, दोस्रोमा वाढी र त्यसपछि अन्य बिपदका सुचकहरु राख्ने गरेको छ । पहिरोको उच्च जोखिममा रहेको कालीकोटका वस्ती जोगाउन सडक बिस्तारमा बिशेष ध्यान दिनुपर्ने जानकारहरु बताउँछन् । त्यसपछि बृक्षारोपणलाई जोड दिन समेत सुझाव दिइएको छ ।

                                                                                                      गोरखापत्र दैनिकबाट लिएको