कृषि

‘कृषिको औद्योगिकीकरणमा जोड दिऔँ, समृद्धि हात लाग्छ’ – नेता गौतम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले कृषिको औद्योगिकीकरणमा जोड दिएमा छिट्टै समृद्धि हासिल हुने बताएका छन् ।

अखिल नेपाल किसान महासङ्घले आज आयोजना गरेको ‘कृषि विकास, खाद्य सम्प्रभुता र जलवायु न्यायसम्बन्धी बहुपक्षीय अन्तरक्रिया’ मा महासङ्घका इञ्चार्ज गौतमले ३१ लाख हेक्टर खेतीयोग्य जमीन अहिले तीन करोडमा टुक्र्रा हुँदै गरेकामा चिन्ता व्यक्त गर्दै सम्पूर्ण कृषिभूमि चक्लाबन्दी हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा महासङ्घका सहइञ्चार्ज तथा पूर्वमन्त्री सुनिलकुमार मानन्धरले ९० प्रतिशत साना किसानलाई उत्पादनमा प्रोत्साहन गराएर अघि बढाउन जरुरी भएको बताए ।

नेकपाका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य बलरामप्रसाद बाँस्कोटाले नेपालमा बढी कार्बन उत्सर्जन भएर जलवायु परिवर्तन भएकाले साना किसानलाई कृषि क्षेत्रमा थप सक्षम बनाएर अघि बढाउन जरुरी छ भनेर बताए ।

महासङ्घका अध्यक्ष भैरव रेग्मीले सरकारले किसानको सहयोगका लागि दिने भनेको अनुदान रकममा ६० प्रतिशत भष्टाचार हुने गरेको विचार राख्दै त्यससम्बन्धी कानुन निर्माण गर्न आवश्यक रहेको बताए । उनले भने “मुलुकमा कृषि उत्पादन बढाउन बीउबिजन, बजार व्यवस्थापन , कृषि अनुसन्धान केन्द्र र कृषि विश्वविद्यालयमा पनि सरकारले थप जोड दिनु आवश्यक देखिन्छ ।”

महासङ्घ स्थायी समिति सदस्य नहेन्द्र खड्काले देशको अर्थतन्त्रको एक तिहाइ हिस्सा ओगटेको कृषि क्षेत्रमा सुधारको खाँचो औँल्याए । उनले भने, “देशमा खाद्य सम्प्रभुता अनिवार्य लागु गराउने वातावरण मिलाउँदै छौँ ।” भूमिहीन, सर्वहारा र मध्यमवर्गीय किसानको हितमा एकै किसिमको कृषि नियम लागु हुन जरुरी रहेको खड्काले बताए ।

संयुक्त राष्ट्र सङ्घ, खाद्य तथा कृषि सङ्गठनका प्रतिनिधि डा. विनोद शाहले नेपालबाट कसरी भोकमरी हटाउने र किसानको थप आयआर्जन बढाउने भन्ने सङ्घको उद्देश्य रहेको बताए । उनले भने “ कृषि क्षेत्रमा पुरुषका तुलनामा जुनसुकै स्थानका महिलाहरुका सहभागिता बढिरहेका हुँदा उनीरुले दिनभरि गर्ने कार्यभारमा सहयोग पुर्याउन घरघरका मानिसलाई आग्रह गर्दछु ।”

मुलुकमा बढ्दै गएको जलवायु परिवर्तनका कारण पुराना जातजातिका बीउबिजन फल्न नसकेको डा. शाहले बताए । तीन दिनसम्म चल्ने अन्तरक्रियापछि प्राप्त सुझाव कृषि तथा पशुपन्छीमन्त्रीलाई बुझाइने जनाइएको छ ।