समाचार

सिन्धुपाल्चोक दुर्घटनाको खबरले खान र सुत्न दिएन- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  सिन्धुपाल्चोक दुर्घटना प्रति दु:ख व्यक्त गरेका छन् । उनले दुर्घटनामा आमाको निधन भएर दूधे बालक बेवारिस भएको खबर पढ्दा आफू निकै भावुक भएको बताएका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा मन्त्रालयका पदाधिकारीहरुलाई सडक दूर्घटना न्यून गर्ने कार्ययोजना तत्काल लागु गर्न उनले निर्देशन दिएका छन् ।

पछिल्लो समय मुलकमा सडक दुर्घटनाको संख्या वृद्धि भएको बताउँदै उनले चिन्ता व्यक्त समेत गरेका छन् । उनले सडक दुर्घटनालाई न्यूनीकरण गर्ने उपाय खोज्न सडक पूर्वाधार तथा गृह मन्त्रालयका पदाधिकारीहरुलाई सोमबार बोलाएका उनको सचिवालय जानकारी दिएको छ ।

“सिन्धुपाल्चोकको सडक दुर्घटनामा आमाको निधन भएर दूधे बालक बेवारिस भएको खवर पढेँ, बिरामी अवस्थामा रहेर हो कि, म निकै भावुक भएँ । हिजो खाना खान र सुत्न पनि सकिनँ,”उनले थपे, “यस्ता दूर्घटनाले ठूलो संख्यामा सक्षम जनशक्तिको क्षति भएको छ । त्यसले कति बृद्धबृद्धा र बालबालिकालाई बेसहारा बनाएको छ ? यसलाई तत्काल रोक्ने कार्ययोजना बनाउनु पर्‍यो ।”

सडक दुर्घटनामा ठुलो मात्र जनधनको क्षति भएको बताउँदै उनले चालकहरुलाई तालिम, लाइसेन्सको पुनर्परीक्षण र सडक पूर्वाधार प्रयोगको अनूमतिमा गम्भीर परीक्षण गर्न निर्देशन दिएका छन् ।

“सिट भन्दा बढी यात्रु राख्न नदिने, छतमा यात्रु राख्न नदिने, निर्माण पूरा नभएका वा यातायात सञ्चालनका लागि योग्य नभएका सडकमा सञ्चालन अनुमति नदिने, चालकको क्षमता परीक्षण गर्नेजस्ता काम तत्काल गरिहाल्नुस्,” प्रधानमन्त्री ओलीले भने, “सडक पूर्वाधारको स्वीकृति गर्दा डबललेन घटीको संरचना स्वीकृत नगर्नुस्, सडकको डिलमा ग्रास ब्यारियार अनिवार्य निर्माण गर्ने व्यवस्था गर्नुस्, सडकमा स्पिडब्रेकरको अनिवार्य व्यवस्था गर्नुस्, बस चालकको कक्षमा ध्यान अन्तै मोड्ने खालका मानिस तथा समग्री छन् भने हटाउने स्पष्ट नियम बनाउनुस् ।”

गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ, गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात सचिव, प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख, सडक विभाग र यातायात व्यवस्था विभागका महानिर्देशकलगायतको समूहलाई प्रधानमन्त्रीले संयुक्त रुपमा निर्देशन दिएका हुन् ।