राजनीति

कांग्रेस केन्द्रिय समिति बहिस्कार गर्दै ‘पौडेल समूह’ले बोलायो आफ्नो छुट्टै बैठक

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आज(सोमबार) पनि केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गर्दै दिउँसो तीन बजे आफ्नो समूहको बैठक बोलाएको छ ।

संस्थापन पक्षसँग वार्तापछि शीर्ष नेताहरुबीच भएको छलफलले बैठकमा नजाने निर्णय गरि पौडेल समूहले आफ्नो बैठक डाकेको हो ।

सोमबार बिहान दुई पक्षको वार्ता समितिबीच कुराकानी भएको थियो । वार्ताका लागि उपसभापति विमलेन्द्र निधि पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगेका तिए ।

उक्त वार्तामा कुराकानी सकारात्मक भए पनि टुंगोमा नपुगेको पौडेल समूहका एक नेताले बताए । ‘सहमतिका लागि प्रयास जारी राख्छौं तर एउटा निर्णयमा नपुगेसम्म केन्द्रीय समितिको बैठकमा सहभागी हुदैनौं ।’ , पौडेल पक्षको सो नेताले बताए ।

उक्त छलफलमा पौडेल समूहले नेविसंघ र तरुण दलमध्ये कुनै एक संगठनको नेतृत्व आफ्नो समूहले पाउनुपर्ने माग अघि सारेको थियो । 

१४ औं महाधिवेशनको कार्यतालिकालाई पहिलो एजेण्डा बनाउनुपर्ने माग गर्दै पौडेल समूहले बिहीबारबाट शुरु भएको केन्द्रीय समितिको बैठक बहिस्कार गर्दै आएको छ । यद्द्पी संस्थापन पक्ष भने अघिल्लो कार्यसमिति बैठकको निर्णय देखाएर जारी केन्द्रीय कार्यसमिति बैठकमा कार्यतालिकाको विषय एजेण्डाको रुपमा नल्याउने मनस्थितिमा छ ।  

यसअघि बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीका अन्तरिम संरचनाहरु निर्माण पछि मात्रै महाधिवेशनको कार्यतालिका बनाउने निर्णय सर्वसम्मत पारित गरेको थियो ।  पौडेल समूहकै सहमतिमा उक्त निर्णय भएको र पार्टीको केन्द्रीय निर्वाचन समितिले संघीय संरचनाअनुसार अन्तरिम संरचना निर्माणको काम सम्पन्न गरिनसकेको भन्दै संस्थापन पक्ष तत्कालै कार्यतालिकाको विषयलाई एजेण्डाका रुपमा ल्याउन अनिच्छुक देखिएको स्रोतले बतायो ।