पु.समाचार

रहेनन् चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईः प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

काठमाडौं । चलचित्र विकास वोर्डका कार्यकारी अध्यक्ष तथा अभिनेता केशब भट्टराईको  निधन भएको छ । आइतबार राति १० बजेर २० मिनेटमा उनको उनको निधन भएको हो ।

स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि भट्टराईलाई उपचारका लागि ओम अस्पतालतर्फ लगिँदै थियो । तर अस्पताल नपुर्याउँदै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको निधनको कारण भने खुलेको छैन ।

निर्माता तथा कलाकारसमेत रहेका भट्टराइले पछिल्लो पटक चलचित्र ‘यात्रा’ निर्माण गरेका थिए । उनले निर्माण गरेका थुप्रै चलचित्रले बक्स अफिसमा राम्रो व्यापार समेत गरेका छन् ।

करिब एक वर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भट्टराइले केही राम्रा कामको सुरुवातसमेत गरेका थिए । भट्टराई तीसको दशकभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय थिए । 

उनले बनाएका चलचित्रमा ‘आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरबाबु, छोडी गए पाप लाग्ला, सो सिम्पल’लगायत छन् । उनले दर्जनौ‌ं चलचित्रमा अभिनयसमेत गरेका छन् ।उनका श्रीमती र एक छोरा रहेका छन् । उनको आजै अन्त्येष्टि गरिने पारिवारीक श्रोतले बताएको छ । 

यस्तै प्रधानमन्त्रील केपी शर्मा ओलीले भट्टराईको असामयीक निधनप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत ओलीले भट्टराईको कला सधैं स्मृतिमा रहने भन्दै श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

बितेका दुई दिनमा प्रतिभावान् दुई कलाकार, केशव भट्टराई र दीपक क्षत्रीलाई गुमाएको प्रति पनि ओलीले दुःख व्यक्त गरेका छन् ।

उनको ट्वीटरः बितेका दुई दिनमा हामीले प्रतिभावान् दुई कलाकार, केशव भट्टराई र दीपक क्षत्रीलाई गुमायौं । उहाँहरुको कला सधैं हाम्रो स्मृतिमा रहनेछ । हार्दिक श्रद्धाञ्जलि १ शोकाकुल आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।