अन्तर्राष्ट्रिय

विष्फोटक पदार्थ निष्क्रिय पार्न ५० हजार नागरिकलाई सुरक्षित स्थानमा लगियो

एजेन्सी । दोस्रो विश्व युद्धको अवशेषका रूपमा भेटिएको विष्फोटक पदार्थ निष्क्रिय पार्न विज्ञहरूले काम गरिरहँदा ५० हजार इटालीयालीलाई दक्षिणी शहर ब्रिन्दीसी सहरबाट सुरक्षितस्थलमा सारिएको इटालीको प्रहरीले जनाएको छ ।

इटालीका सञ्चारमाध्यमले दिएका समाचार अनुसार बेलायतमा निर्मित उक्त बिष्फोटक पदार्थ निकै शक्तिशाली भएको र यो दोस्रो विश्व युद्धमा इटालीमाथि प्रहार भएको विश्वास गरिएको छ । विष्फोटक पदार्थ एक मिटर लामो र करिब २०० किलोग्राम तौलको रहेको र यसलाई सहरमा एउटा सिनेमा घर बनाउन जमिन खन्दा गत नोभेम्बर २ मा भेटिएको इटालीको प्रहरीले जनाएको छ ।

इटालीमा पछिल्ला केही दशक यता यति ठूलो विष्फोटक पदार्थ भेटिएको पहिलो घटना भएको र यसलाई विशेष सावधानीसाथ निष्क्रिय पारिएको छ । विष्फोटक पदार्थलाई भवन निर्माणस्थलमा नै विज्ञहरूको निर्देशनमा सेनाले निष्क्रिय बनाएको छ तर यसलाई सोमबार अर्कै स्थानमा लगेर विष्फोट गराउने बताइएको छ ।

विष्फोटक पदार्थ निष्क्रिया बनायने काम गर्दै गर्दा यसवरपर करिब १।५ किलोमिटरको दुरीमा रहेका बासिन्दालाई सुरक्षितस्थलमा जान अनुरोध गरिएको थियो भने करिब आधा किलोमिटरको दुरीमा रहेको वस्तीमा ग्यास आपूर्तिलाई बन्द गरिएको थियो भने उक्त समयमा केही क्षेत्रमा हवाई तथा रेल सेवालाई पनि रोकिएको थियो ।

उक्त समय हजारभन्दा बढी सुरक्षाकर्मी र २५० तालिमप्राप्त स्वयम्सेवकलाई परिचालित गरिएको इटालीको एजीआई न्यूज एजेन्सीले बताएको छ । एजेन्सीका अनुसार शनिबार ब्रिन्दिसीको आधा जनसङ्ख्या र जेलमा रहेका २१७ जना कैदीहरूलाई पनि सुरक्षित स्थलमा सारिएको थियो ।