खेलकुद

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (सोमबार) दुई खेल हुदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा साढे १२ बजे हुने पहिलो खेलमा त्रिभुवन आर्मी र फ्रेन्ड्स क्लब भिड्नेछन् ।

दिनको दोस्रो खेलमा दशरथ रंगशालामा संकटा र च्यासलले दिउँसो साढे २ बजे प्रतिस्पर्धा गर्नेछन् । लिगको पहिलो खेलमा चारै टोली जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछन् ।

संकटा र च्यासलको तीन अंकको भिडन्त

गत सिजन लिग जित्ने लक्ष्य सहित च्यासलले टिम तयार बनाएको थियो । राष्ट्रिय टिमका विमल घर्तीमगरदेखि देवेन्द्र तामाङ सहितको खेलाडी लिएर प्रतियोगितामा होमिएको च्यासलले लक्ष्य पार गर्न सकेन । अर्कोतर्फ सुपर ६ को लक्ष्य सहित लिगमा उत्रिएको संकटा अप्रत्यासित रुपमा उपविजेता बन्यो ।

फेरि एक पटक शहिद स्मारक ए डिभिजन लिगमा दुबै टिम उपाधि लक्ष्य सहित मैदान उत्रदै छन् । लिगको तेस्रो खेलमा संकटा र च्यासलबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल दशरथ रंगशालामा दिउँसो साढे २ बजे सुरु हुनेछ ।

मुख्य बिषय करिब ५ बर्षपछि दशरथ रंगशालामा लिगको खेल हुन लागेको छ । यसअघि लिगको उद्घाटन खेल रंगशालामा गर्ने भनिएपनि बर्षाले मैदान हिलाम्य भएपछि प्रभावित बनेको थियो ।

लिगको पहिलो खेलमा दुबै टिम स्पष्ट तीन अंक बटुल्ने लक्ष्य सहित मैदान उत्रनेछन् । लिगको पहिलो खेलमा दुबै टिम जित निकाल्न चाहन्छन् । दुवै टिम विपक्षीलाई अंक सुम्पिने अवस्थामा छैनन् ।

गत सिजन भएको भिडन्तमा संकटाले बाजी मारेको थियो । खेलमा संकटाले च्यासललाई २–१ गोल अन्तरले पराजित गरेको थियो । च्यासलविरुद्ध म्यान अफ दि म्याच चुनिएका संकटाका नितिन थापा यस सिजन च्यासलको जर्सीमा मैदान उत्रनेछन् ।

च्यासलका प्रशिक्षक बालगोपाल शाहुखल स्पष्ट तीन अंकको लागि खेल्ने बताउँछन् । ‘तयारी राम्रो गरेका छौं । तीन अंकका लागि खेल्छौैं ।’ पहिलो पटक ए डिभिजन क्लबको जिम्मेवारी पाएका साहुखलले भने । उनले गत सिजनको उपविजेता टिमविरुद्ध आफ्ना खेलाडी खेल्न तयार रहेको बताउँछन् ।

च्यासलले लिग जित्ने लक्ष्य सहित थ्री स्टारबाट राष्ट्रिय टिमको प्रतिनिधित्व गरिरहेका खेलाडी अनुबन्धन गरेको छ । उसले गोलरक्षक एलन न्यौपाने, डिफेन्डर दिनेश राजबंशी र मिडफिल्डर सुनिल बललाई थ्री स्टारबाट टिममा ल्याएको हो ।

दिनेश भने एन्फाको कारबाहीका कारण लिग गुमाउने छन् । च्यासलसँग १३ औं सागमा नेपाललाई स्वर्ण दिलाएका नितिन थापा रहने छन् । भेट्रान फरवार्ड सन्तोष साहुखल समेत च्यासलकै जर्सीमा मैदान उत्रनेछन् । गत सिजन अप्रत्यासित रुपमा उपविजेता बनेको संकटा पहिलो खेलमा च्यासलविरुद्ध तीन अंक लिने दाउमा छ । संकटाका मुख्य प्रशिक्षक बिजय महर्जन आफ्ना खेलाडी च्यासलविरुद्ध खेल्न तयार रहेको बताउँछन् ।

‘तयारी राम्रो भएको छ । च्यासलविरुद्ध जित्ने लक्ष्यसाथ मैदान उत्रनेछौं । स्पष्ट तीन अंकको लागि खेल्छौं ।’ उनले भने ।संकटालाई राष्ट्रिय टिमबाट खेल्दै आएका डिफेन्डर सरोज दाहाल र मिडफिल्डर सुभाष गुरुङको साथ छ । गत सिजन १३ खेलबाट संकटाले २८ अंक जोड्दै लिगको उपविजेता बनेको थियो । च्यासल भने १६ अंक सहित आठौ‌ भएको थियो ।

फ्रेन्डसलाई आर्मीले कमजोर नआँक्ने

काठमाडौं । विभागीय त्रिभुवन आर्मी क्लब ए डिभिजन लिगमा सधै उपाधिमा दाबेदारीता प्रस्तुत गर्छ । गत सिजन पनि उसको दाबी उपाधिमा थियो ।

च्याम्पियन हुने लक्ष्य सहित प्रतियोगिताको सुरुवात गरेको आर्मी अन्तिममा चौथो स्थानमा रहन पुग्यो । यसपटक समेत उसको दाबी पुरानै जस्तो छ । तर कागजमा सधै राम्रो टिम भएपनि आर्मीले नतिजा निकाल्न सकेको छैन ।

लिगको पुर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक नविन न्यौपानेले गत सिजन च्याम्पियन बन्ने लक्ष्य भएपनि आफ्नै गल्तीका कारण मौका गुमाएको बताएका थिए ।

यसपटक सोही गल्ती नदोहर्याउने उनको बाचा थियो ।

‘गत सिजन लिगमा च्याम्पियन हुने लक्ष्य थियो । आफ्नै गल्तीले लक्ष्य पुरा भएन । यसपटक कमीकमजोरी सुधार गर्दै पुरा गर्छौ ।’ उनले भनेका छन् । लिगको दोस्रो खेलमा आर्मीले ललितपुरे क्लब फ्रेन्डसको सामना गर्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिनको साँढे १२ बजे सुरु हुनेछ ।

लिगको पहिलो खेलमा दुबै टिम स्पष्ट तीन अंकको लागि मैदान उत्रनेछन् । शारिरिक रुपमा बलियो मानिने आर्मी फेण्डसलाई हराउँदै लिगको उपाधि यात्रामा सुखद सुरुवात गर्न चाहन्छ ।

ललितपुरे फ्रेन्डस पनि लिगको पहिलो खेलमा आर्मीलाई स्तब्ध पार्दै लिगमा आफुलाई बलियो साबित गर्न चाहन्छ । कुपन्डोलको क्लबले तीन ब्राजिलीयन खेलाडी सहित प्रशिक्षकको सहायतामा आर्मीलाई पराजित गर्ने लक्ष्य राखेको छ । गत सिजन भएको खेलमा दुवै टिमले गोल रहित बराबरी खेलेका थिए ।

आर्मी भने फ्रेन्ड्स क्लबलाई कमजोर नआँक्ने बताउँछ । आर्मीका म्यानेजर तथा सहायक प्रशिक्षक चुन बहादुर थापा भन्छन्, ‘लिगको पहिलो खेलमा स्पष्ट तीन अंकका लागि खेल्छौं । त्यसका लागि हामी तयार छौं ।’ उनले खेलपाटीसँग भने । उनले फ्रेन्डसलाई सहज नलिने र लिगमा सुखद् सुरुवात गर्ने लक्ष्य राखेको बताए ।

आर्मीले फ्रेण्डसविरुद्ध राष्ट्रिय टिमका भरत खवास, नवयुग श्रेष्ठ, विकेश कुथु र सुमन अर्याल सहित १३ औं साग च्याम्पियन टिमका बिकाश खवास र सेसेहाङ आङ्गदेम्बेलाई मुख्य हतियार बनाउन सक्नेछ । गत सिजन १३ खेलमा २५ अंक सहित आर्मी चौथो स्थानमा रहँदा फ्रेन्डस १२ अंक सहित लिगको ११ औं स्थानमा रहेको थियो ।