समाचार

तारा गाउँ विकास समितिद्वारा बक्यौता बुझाउन चार कम्पनीलाई सात दिने अल्टिमेटम

काठमाडौँ, २९ मङ्सिर । तारा गाउँ विकास समितिले बक्यौता भाडा बुझाउन चार कम्पनीलाई सात दिने अल्टिमेटम दिएको छ । लामो समयदेखि भाडा नतिर्ने कम्पनीलाई पत्राचार गर्दै सात दिनभित्र बक्यौता नबुझाए कानूनी कारवाही गर्ने चेतावनी दिएको हो ।

समितिका अध्यक्ष प्रह्लाद न्यौपानेको निर्देशनपछि तारा गाउँ विकास समितिले सात दिने अल्टिमेटमसहित १९ मङ्सिर २०७६ मा पत्र काटेको थियो । समितिका भवनहरु लिजमा प्रयोग गर्दै आएका काठमाडौँको नयाँ सडकस्थित सुलक्स सेन्टर, अजन्ता इन्टरप्राइजेजलाई र पिकी इन्टरनेशनल, बालुवाटारका चाङ्गेस्थान सप्लायर्स प्रालि र चाङ्गेस्थान सप्लायर्स प्रालिलाई बक्यौता बुझाउन पत्र पठाइएको छ ।

अध्यक्ष न्यौपानेका अनुसार अजन्ता इन्टरप्राइजेजले समितिलाई रु आठ लाख ४८ हजार २९० बुझाउन बाँकी छ । यो कम्पनीले पटकपटक तागेता गर्दा पनि बक्यौता बुझाउन अटेर गर्दै आएको छ । यसैगरी नयाँ सडकको रामागृह भवनको रु ७८ लाख ५६ हजार, २५० चाङ्गेस्थान सप्लायर्स प्रालिले बुझाएको छैन ।

यसैगरी चाङ्गेस्थान सप्लायर्स प्रालिलाई नै सम्झौताअनुसार भाडा बुझाउन पत्र काटेको छ । तारा गाउँ विकास समिति र सप्लायर्सबीच गत ११ फागुन २०७४ मा भएको भाडासम्बन्धी करार सम्झौता भएको थियो । चाङ्गेस्थान सप्लायर्सले संरचना बनाएर व्यवसाय गरिरहेको भएपनि अहिलेसम्म भाडा भने बुझाएको छैन । कम्पनीले पहिलो र दोस्रो वर्ष (निर्माण अवधि) लागि वार्षिक रु ९५ लाख पाँच हजार वार्षिक भाडा बुझाउने सम्झौता छ तर उसले आजसम्म बुझाएको छैन ।

पिकी इन्टरनेशनल कम्पनीले रु १२ लाख ६७ हजार ४०० बक्यौता बुझाउन बाँकी छ । सुलक्स सेन्टरले रु १४ लाख १३ हजार ५०० बुझाउन बाँकी छ । अध्यक्ष न्यौपानेले कुनै पनि बहानाबाजीमा राज्यलाई बुझाउनुपर्ने भाडा नबुझाए कानूनी कारवाही गरिने बताए ।