खेलकुद

प्रदेशस्तरीय महिला फुटबल पुस ८ देखि

बनियानी, २९ मङ्सिर । झापाको विर्तामोडस्थित डोमालाल रङ्गशालामा प्रदेशस्तरीय महिला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । विर्तामोड फुटबल क्लबको आयोजनामा यही पुस ८ गतेदेखि १५ गतेसम्म ‘तमू ल्होसार गोल्डकप–२०७६’ हुन लागेको हो । क्लबले आज डोमालाल रङ्गशालामा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा प्रदेश १ का आठ वटा टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ ।

क्लबका अध्यक्ष डिके गुरुङले झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा र उदयपुरका एक÷एक टिमले सहभागिता जनाउने बताए । “हरेक वर्ष ल्होसारका अवसरमा महिला फुटबल प्रतियोगिता गर्ने योजान छ,” उनले भने, “यस वर्षदेखि शुरु गरेका हौँ ।”

प्रतियोगिता सम्पन्न गर्न रु २१ लाख खर्च हुने आयोजकले जनाएको छ । आर्थिक सहयोगका लागि विभिन्न सङ्घसंस्थासँग सहकार्य गरिरहेको र सहयोगका लागि प्रतिबद्धता अध्यक्ष गुरुङले बताए । प्रतियोगितामा विजयी टिमले रु एक लाख एक हजार १११ र द्वितीयले रू ५१ हजार १११ प्राप्त गर्नेछन् । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले रू तीन हजार र विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीले रु पाँच हजार पाउने आयोजकले जनाएको छ ।