आर्थिक

अवरुद्ध इन्टरनेट नबन्दा बैंकिङ कारोवार ठप्प

डोटी, २९ मङ्सिर । शुक्रबार बिहान हिमपातसँगै परेको चट्याङका कारण अवरुद्ध भएको टेलिफोन लाइन अझै सञ्चालन हुन सकेको छैन । यहाँका पहाडी जिल्ला दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, बाजुरा, अछाम तथा डोटीमा सञ्चार सम्पर्क जोड्नका लागि डडेल्धुराको काफलीमा निर्माण गरिएको नेपाल टेलिकमको एक्सचेन्ज टावरमा चट्याङका कारण क्षति भएपछि शुक्रबारदेखिसञ्चार सम्पर्क अवरुद्ध भएको हो ।

टेलिफोनसँगै अन्य सञ्चार सम्पर्क पनि अवरुद्ध भएपछि यहाँका पहाडी जिल्लामा आज बैंकिङ कारोवार पनि ठप्प भएको राष्ट्रिय वाणिज्य बैंक दिपायलका गणेश विष्टले बताए । इन्टरनेट नहुँदा बैंकिङ कारोवार बन्द भए पनि सेवाग्राही बढी मर्कामा परेका दिपायल पीपल्लाका शेरबहादुर चोखालले बताए ।

चट्याङले क्षति पु¥याउँदा अवरुद्ध भएको सञ्चार सम्पर्क सञ्चालन गर्न काफलीमा प्राविधिक टोली खटिए पनि सञ्चालन गर्न नसकिएको नेपाल टेलिकम दिपायल राजपुरको कार्यालयले जनाएको छ । त्यस्तै यहाँका पहाडी जिल्लामा शुक्रबार रातिदेखि टेलिफोन सेवा, नेपाल टेलिकमद्वारा वितरित एडिएसएल लगायतका इन्टरनेट सेवा पनि पूर्ण रुपमा अवरुद्ध भएको छ ।

त्यस्तै एडिएसएल लगायतका इन्टरनेट सेवा अवरुद्ध भएपछि यहाँका सञ्चारकर्मीले आफ्ना सञ्चारगृहमा समाचार सम्प्रेषण गर्न सकेका छैनन् । ल्यान्डलाइन टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भए पनि मोबाइल सेवा तथा हटस्पोट इन्टरनेट सेवा भने आंशिक रुपमा सञ्चालन रहेको नेपाल टेलिकम राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले बताए ।

कर्मचारी नहुँदा सेवाग्राही मर्कामा

राजपुरमा स्थापना गरिएको यातायात व्यवस्थासेवा कार्यालय कर्मचारी अभावमा हिजोआज सुनसान जस्तै बनेको छ । जिल्लामा उक्त कार्यालय स्थापना भएको कम्तीमा पनि पाँचवर्ष वितिसक्दासमेत कर्मचारी अभावका कारण पूर्णरुपमा कार्यालयको सेवा सुचारु हुन सकेको छैन ।

यहाँका पहाडी जिल्ला डोटी, अछाम र बाजुराका सेवाग्राहीलाई सेवा प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले स्थापना भएको उक्त कार्यालयमा हाल दरबन्दी अनुसारका कर्मचारी पदपूर्ति नहुदाँ सेवा प्रवाहमा समस्या देखिएको हो । आठौं तहका कार्यालय प्रमुख रहने दरबन्दीको संरचना अनुसार स्थापना गरिएको उक्त कार्यालयमा गत साउन महिनादेखि कार्यालय प्रमुख नै छैनन् ।

संरचना अनुसार आठौं तहको कार्यालय प्रमुख, छैटौं तहको अधिकृत एक, पाँचौं तह एक, चौथौं तह एक, मेकानिकल सुपरभाइजर र कार्यालय सहयोगी दुई गरी कूल सातको दरबन्दी रहेको उक्त कार्यालयमा हाल छैटौं तहअधिकृत एक, सहायक पाँचौं एक, चौथो एक र कार्यालय सहयोगी एक जना मात्रै कर्मचारी रहको निमित्त कार्यालय प्रमुख चेतराज भट्टले बताए । यातायात व्यवस्था सेवा कार्यालयमा स्थापना भएको पाँच वर्ष बित्दा पनि यातायात व्यवसायीले सेवा लिन कैलाली जानुपर्ने बाध्यता कायमै रहेको शैलेश्वरी यातायात व्यवसायी समितिका कर्मचारी टेकबहादुर शाहले बताए ।

उक्त कार्यालयमा सवारी दर्ता नवीकरण, नामसारी, सवारी चालक अनुमतिपत्र जारी र नवीकरण गर्ने, बाटो इजाजतपत्र जारी तथा नवीकरण गर्ने, यातायात सेवा पञ्जीकृत, सवारी जाँचपास, सेती अञ्चल यातायात व्यवस्था कार्यालयबाट जारी भएका चालक अनुमतिपत्र नवीकरण, पट्के बाटो इजाजत, सवारी अनुगमनलगायत कार्य गर्नका लागि स्थापना गरिएको भए पनि हाल कार्यालयले चालक अनुमतिपत्र नवीकरण, बाटो इजाजत नवीकरण, पट्के बाटो इजाजत, पञ्जीकरणका काम मात्रै गरिरहेको छ ।