समाचार

नौ सय बोतल लागुऔषधसहित एक भारतीय युवक पक्राउ

जलेश्वर, २९ मङ्सिर । महोत्तरीको मटिहानी नगरपालिका–९ स्थित सडकमा सशस्त्र प्रहरीले आज ९०० बोतल लागुऔषधसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनी जिल्लाको मधवापुर ग्रामपञ्चायत–१ बस्ने १९ वर्षीय राकेशकुमार महतो रहेको सशस्त्र प्रहरी बल नेपाल ९ नं गण हेडक्वार्टरका सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले दिए ।

भारतबाट अवैध रुपमा लागुऔषध बोकी नेपाल आएका युवक महतोलाई मटिहानी नपा–९ स्थित जलसागर नजीकै सशस्त्र प्रहरीले शङ्का लागि जाँच गर्दा उनको साथबाट लागुऔषध फेनारगन ३०० बोतल, नुफिन २९४ बोतल, डाइजेल्याब २९५ बोतल, घडी थान एक र १० किलोग्राम चामल बरामद गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए । लागुऔषधसहित पक्राउ परेका युवकलाई आवश्यक कारवाहीका लागि सशस्त्र प्रहरीले आजै जिल्ला प्रहरी कार्यालयमा बुझाएको जनाएको छ ।