स्वास्थ्य

गोकर्ण अस्पतालमा छैनन् एक्स–रे, इसिजी चलाउने प्राविधिक

काठमाडौँ, २९ मङ्सिर । प्राथमिक स्वास्थ्य केन्द्रबाट अस्पतालमा स्तरोन्नति भएको छ महिनासम्म पनि गोकर्ण प्राथमिक अस्पतालमा एक्स–रे र इसिजी यन्त्र चलाउने प्राविधिक एवं राख्ने कक्षसमेत छैन । प्राथमिक स्वास्थ्य केन्द्रलाई गत असार १६ गते प्राथमिक अस्पतालमा स्तरोन्नति गरिएको थियो । राजधानीकै नगरपालिकाको स्वास्थ्य केन्द्रको यस्तो अवस्था छ भने दूरदराजको अवस्था के होला सहजै अनुमान गर्न सकिन्छ ।

प्रदेश नं. ३ सरकारको रु ५० लाख सहयोगमा केन्द्रलाई अस्पतालमा स्तरोन्नति गरिएको हो । केन्द्रबाट अस्पतालमा स्तरोन्नतिको घोषणा गर्न मुख्यमन्त्री डोरमणि पौडेल नै गोकर्ण अपनाएको थियो । अस्पतालमा स्तरोन्नति भएपछि २४ सै घण्टा सेवा उपलब्ध गराउनुपर्ने भए पनि हाल बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म मात्र अस्पताल खुल्ने गरेको छ । अस्पतालमा १५ शय्या रहने भनिए पनि त्यसको व्यवस्था छ महिनासम्म पनि हुन सकेको छैन ।

अस्पतालमा एक्स–रे यन्त्र चलाउने प्राविधिक जनशक्तिसमेत नभएको अस्पताल व्यवस्थापन समिति सदस्य राजकुमार श्रेष्ठले रासससँग स्वीकार गरे । अस्पतालमा कार्यालय सहयोगीसहित २१ जनाको दरबन्दी भए पनि हाल १६ जना मात्र कार्यरत छन् । करारका चिकित्सक भने तीन जना छन् । एक जना प्रदेश सरकारले उपलब्ध गराएको हो ।

अस्पतालका ल्याब निरीक्षक नारायण खनाल ल्याबका प्राविधिक कर्मचारी करारमा राखिए पनि एक्स–रे चलाउने प्राविधिक पाउन नसकिएको बताउछन् । “एक्स–रे यन्त्र आएको एक वर्ष भयो, पहिले राख्ने ठाउँ थिएन, बल्ल राख्ने ठाउँ बन्यो, अब एक्स–रे र इसिजी चलाउने जनशक्तिको प्रतीक्षामा छौँ”, उनले भने ।

विसं २०३१ मा बनेको भवनमा अस्पताल चलाइएकाले ठाउँ पु¥याउन अप्ठ्यारो परेको हो । अस्पताल बनाउन उपयुक्त जग्गाको खोजी भइरहेको छ । राष्ट्रिय शहीद स्मारकसँग अस्पताल बनाउने जग्गा माग गरिएको व्यवस्थापन समिति सदस्य श्रेष्ठले बताए ।

अस्पतालमा स्तरोन्नति भएको बोर्ड झुण्ड्याएपछि दैनिक १०० भन्दा बढी बिरामी जचाँउन आउने गरेका छन् तर स्वास्थ्यकर्मी नै नभएपछि उपचार नपाई निजी अस्पतालतिर लाग्न बाध्य छन् । अस्पतालमा हाल निःशुल्क पाइने ७० प्रकारका औषधि भने उपलब्ध भइरहेको जनाइएको छ । प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा सेवा दिँदा दैनिक एक दर्जन मानिस आइपुग्न मुस्किल हुने अस्पतालको दर्ता पुस्तिकाबाट स्पष्ट हुन्छ ।

थप दरबन्दीका लागि गोकर्णेश्वर नगरपालिकासँग माग गरिएको अस्पतालका स्वास्थ्यकर्मी बताउँछन् । प्रदेश सरकारले अस्पतालमा स्तरोन्नति गरेपछि नगरपालिकाअन्तर्गत सञ्चालन हुने भनिएको छ, तर नगरपालिकाले अस्पतालका लागि आवश्यक सहयोग नगरेको स्वास्थ्यकर्मीको गुनासो छ । अस्पतालमा ‘एमडी’ चिकित्सक समेत छैनन् ।

अस्पतालले आफ्नै फार्मेसीसमेत चलाएको छ । फार्मेसीमा सरकारले उपलब्ध गराएका ७० प्रकारका निःशुल्क औषधिका साथै ३० किसिमका अन्य औषधि सःशुल्क खरिद गर्न पाइन्छ ।

पटकपटक अस्पतालमा सेवा लिन जाँदा पनि स्वास्थ्यकर्मी नभेटी फर्कनुपरेको अस्पताल परिसरमा भेटिनुभएकी बिरामी राममाया श्रेष्ठले बताए । नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र अस्पताल बन्यो भनेर खुसी लागे पनि महीनौँसम्म उपचार गराउन नपाउँदा दुःख लागेको उहाँको भनाइ छ ।

अस्पतालका बारेमा गुनासो गर्न कार्यालय प्रमुख मेडिकल अधिकृत सृजना पाण्डेयलाई पटकपटक भेट्न खोज्दा पनि सम्भव नभएको सेवाग्राहीको गुनासो छ । अस्पतालमा पाइने सेवाका बारेमा अरु स्वास्थ्यकर्मीलाई जिज्ञासा राख्दा सूचना अधिकारी नतोकिएको भन्दै स्वास्थ्यकर्मी बोल्नै नमान्ने गरेको सेवाग्राही मङ्गलबहादुर तामाङले बताए ।

प्रत्येक स्थानीय तहमा एउटा अस्पताल बनाउने सरकारको नीति छ । यसैगरी विसं २०७७ को अन्त्यसम्म देशभरका सबै प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतामा स्तरोन्नति गर्ने तयारीसमेत भइरहेको छ ।

नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना अस्पतालले दुई जना स्टाफ नर्स माग गरेकाले उपलब्ध गराउन लागिएको बताउनुहुन्छ । अस्पताल प्रशासनले एक्स–रे, इसिजीजस्ता यन्त्र चलाउने प्राविधिक कर्मचारीका विषयमा केही नभनेको उनले बताए ।

स्तरोन्नति घोषणा गरी अस्पतालकै बोर्ड राखिए पनि दर्ता नहुँदा थप कर्मचारी प्राप्त नभएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । शाखा प्रमुख हरिप्रसाद उपाध्याय मन्त्रालयमा अस्पताल दर्ताको प्रक्रियामा रहेकाले त्यसपछि आवश्यक जनशक्ति उपलब्ध हुने विश्वास व्यक्त गरे ।

गत आर्थिक वर्षकै बजेटबाट केन्द्रलाई अस्पतालमा स्तरोन्नतिको घोषणा गरिएको थियो । अस्पताल दर्ता भएपछि मन्त्रालयले नपठाए पनि नगरपालिकाले करारमा नियुक्त गरी प्राविधिक स्वास्थ्य सेवा दिइने उहाँको प्रतिबद्धता छ ।