कृषि

नेपालको लागि ड्रागन फल कति उपयुक्त ?

पछिल्लो समय ‘ड्रागन फल’ले लोकप्रियताको शिखर चढेको छ । नेपाल भित्रिएको छोटो समयमा नै महँगो मूल्यको बाबजुद पनि यस फलको चर्चा निरन्तर चुलिँदो छ ।  देख्दा निकै अद्भुत र आकर्षक देखिने यस फललाई ठाउँअनुसार पिताया अथवा पितानाया पनि भन्ने गरिन्छ । ‘हाइलोसेरुस अन्डटुस’ वैज्ञानिक नाम रहेको यस फलको अन्य नामहरू : मुन लभर्स, रात कि रानी, रात कि घन्टी, क्यान्डेरेला इत्यादि पनि हुन् ।  

Image result for dragon fruit

सफा, सुन्दर र देख्दैमा खाउँ खाउँ लाग्ने यस फल नेपाली माटोमा हुर्कन थालेको धेरै समय भएको छैन । झट्ट हेर्दा सिउँडी जस्तो देखिने यस फलमा अधिकमात्रामा क्यालोरी पाइने गर्दछ । धेरैप्रकारको औषधि काम गर्ने यस फलले व्यक्तिको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण टेवा पुर्याउँछ ।   

असाध्यै रसिलो, स्वादिष्ट यस फलले रोग प्रतिरोधात्मक क्षमता बढाउने, शरीरमा शक्ति तथा ऊर्जा वृद्धि गर्ने ल्याकत राख्ने हुनाले यो सुपर पावर हाउस फलको रूपमा  पनि परिचित हुँदै आइरहेको छ । 

प्रतिकिलो १,००० देखि १,२०० रुपैयाँसम्ममा किनबेच भइरहेको ड्रागन फलको चर्चा निरन्तर चुलिँदो छ ।  हाल यसको फल १ सय ५० ग्रामदेखि १ किलोसम्म हुने हँदा यसबाट मनग्य आम्दानी लिन सकिन्छ । 

Image result for dragon fruit

उत्पति :

अन्दाजी २५० वर्ष आसपास उत्पति भएको मानिने ‘ड्रागन फल’ प्रथमत: दक्षिण अमेरीकी देश मेक्सिकोमा भेटिएको थियो । यो मेक्सिकोको रैथाने फल हो । एसियामा यस फल भित्राउने प्रथम मुलुक भियतनाम हो । त्यसपछि मलेसिया, थाइल्याण्ड हुँदै दक्षिण पूर्वी एसियाली क्रममा भित्रिने क्रममा यो फल नेपाल आइपुगेको हो ।

नेपालको लागि नौल फलको रुपमा रहेको ड्रागन फल वि.स. २०५७ मा पशु चिकित्सक डाक्टर जगन्नाथ राईले अमेरिकी इन्जिनियर साथी मार्फत भियतनामबाट नेपाल भित्रयाएका हुन्। 

यसको फलको या यस्ता बोटबिरुवाहरू नागरिक स्तरबाट ल्याउन र लैजान प्राय अवैध कारोबारमा राखिने गरेको भेटिन्छ । बिस्तारै बिस्तारै उपलब्धताका आधारमा सेतो, रातो, हल्का पिङ्क र पहेँलो जातका ड्रेगन फलका बिरुवाहरू नेपालमा पनि भित्रिए ।

Related image

ड्रागन फलहेर्दा कस्तो देखिन्छ ?

विश्वमा पाइने ड्रागन फल मध्ये तीन प्रजातिलाई विशेष खानका लागि योग्य फलका र रूपमा लिने गरिएको भेटिन्छ ।विश्वभर पहेँलो,  सेतो, रातो र हल्का रातो (पिङ्क) जातका ड्रागन प्रयोग गरिन्छ । सेतो र रातो भन्दा पहेँलो अलि कम फल्छ तर पौष्टिक तत्त्व चाहिँ सबैको भन्दा बढी र हल्का बास्नादार हुने गर्छ ।

Related image

सेतो र रातो ड्रागन फलको बोक्रा रातो हुन्छ तर फल चाहिँ सेतोको सेतै हुन्छ भने हल्का रातोको रातो र हल्का रातो नै हुन्छ । तर पहेँलो ड्रागन फलको भने भित्र सेतो हुने गर्छ । सबैथरी ड्रागन फल भित्रको गुदीमा कालो तील भुर्र छरेको जस्तो देखिन्छ ।

सेतो फल लाग्ने प्रजातिको फुलेको कोपिलाको पत्र हल्का सेतो र हरियो, रातो फलको कोपिलाको पत्रको किनारको भागमा हल्का रातो वा गुलाफी हुन्छ । साथै यस फलको फूल निकै वासनादार हुने गर्दछ । यसको बिरुवा रोप्दा, गोडमेल गर्दा, फुल्दा र फल लाग्दासम्म नै घरपरिवार, छिमेकी, पाहुना या साथीभाईहरू यसैको वरिपरी झुम्मिरहेका धेरै भेटिएको यसको खेति गर्दै आएकाहरू अनुभव छ । 

ड्रागन फलको बोक्रा काँचो हुँदासम्म हरियो रहन्छ भने फल पाकीसकेपछी बिस्तारै बिस्तारै रातो या पहेँलो रङ्गमा ढल्ने गर्दछ । पूर्णरुपमा रातो या पहेँलो भइसकेपछी मात्र यो खानयोग्य ठहरिन्छ ।

 यो फल मुखमा राखेपछि पेटको आन्द्रामा रहेसम्म शीतलता सहितको आनन्दता दिन्छ । खानेहरू भन्छन्- ‘यो फल खाएपछि मन मानौं प्राकृतिक सौन्दर्यमा लठ्ठीएर घर परिवार नै बिर्सी एकान्तवासको स्वर्गीय आनन्द उठाईरहे जस्तै हुन्छ । ‘

यो कसरी फल्छ त ?

यसको फल मात्रै होइन फूल पनि उत्तिकै गुणकारी छ । यसको फूल फुल्न लागेपछि बोटले धान्न नसक्ने गरी फुल्छ । फूल फुलेको चार-पाँच दिनपछि फूलका पात सुकिसक्छ । सुकेको फूलको स्पेसल चिया बन्छ । यो फूलको विशेषता के भने यो राति मात्र फुल्छ । राती मात्रै फुल्ने भएकाले पनि यसलाई रातकी रानी भन्न थालिएको हो ।  

चिचिल्ला देखिएपछि बिस्तारै यसको फूललाई बिस्तारै टिप्न सकिन्छ । यसरी टिपेकोफूललाई हामीले तरकारी बनाएर सेवन गर्न सक्छौ । यसको फूल तथा फल चिनी अधिक भएका, उच्च तथा निम्न रक्तचाप, कब्जियत, क्यान्सर, मिर्गौला आदिका रोगीहरू, ज्येष्ठ नागरिक, अशक्त, बालबालिका र सुत्केरी लगायत अन्य बिरामीका लागि अमृत समान फाइदाजनक हुने गर्छ ।

Image result for dragon fruit

फूल फुलेको ४५ दिनमा फल तयार हुन्छ । जो जेठदेखि असोज-कात्तिकसम्म फुलिरहन्छ र फलिरहन्छ । अत्याधिक फुलेका सबै फूलहरूलाई बोटले थान्न नसक्ने अवस्था देखियो भने छाँटी दिनुपर्ने हुन सक्छ ।

यो फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाउन सकिन्छ । यसको मुन्टाको गजबको तरकारी बन्छ । 

कस्तो माटोमा यो फल्छ ?

कारीब समुन्द्री सतह देखी ३००० मिटर सम्म यसको खेती गर्न सकिन्छ । नेपालको हकमा यसको खेतीको लागि योग्य जमिन तराईदेखि १५०० मिटर सम्मको उचाइमा लगाउन सकिन्छ । जस्तोसुकै माटोमा खेती गर्न सकिने यस फललार्ई गमला, छत तथा करेसामा पनि लगाउन सकिन्छ । यो खेती तराईदेखी उच्च पहाडी जमिन सम्म गर्न सकिन्छ।

यसको लागि पानी नजम्ने, सेप नभएको पारीलो जमिन(रेन स्याडो) उपयुक्त हुन्छ । यो कालो, रातो, दोमट, फुस्रो, बलौटे, चिम्ट्याइलो, गेगरयुक्त, ढ्ङ्ग्यान जस्तो सबै ठाउँमा फल्ने फल हो । पी एच मान ( PH.value ) ४,५-७.५ सम्म भएको माटोमा यसको खेती गर्न सकिन्छ ।

यसलाई मौसम र वातावरणमा हुने उच्च परिवर्तन र उतार चढावले खासै असर गर्दैन । १५ देखि ३० डिग्री तापमान एकदमै राम्रोसँग सप्रिने यस फलले बढीमा ४५ डिग्री सेल्सियस र घटीमा २-३ डिग्री सेल्सियस तापमान सहन सक्दछ ।  यसिकारण यो फल  घाम लाग्ने रूखा, सुख्खा, पाखा, पखेरो, बगर, तराई, भित्री मधेस र पहाडका तेलहन र दलहन क्षेत्र पनि निकै उपयुक्त मानिन्छ ।

घाम लाग्ने सहरभित्र हरेक घरका कौसी, करेसाबारी, खाली जमिन या त्यस्तै  ठाउँमा यसलाई रोप्ने हो भने पनि यसले शहरी सुन्दरता बढाउने पक्का नै छ । ड्रागन फलको खेति गर्नको लागी पानी अत्यावश्यक नपर्ने हुँदा धेरै सुक्खा ठाउँहरुमा पनि यसको खेति गर्न सकिन्छ ।

नेपालको हावापानी ड्रागन फलका लागि निकै उत्तम देखिन्छ । अहिलेसम्म उत्पादन भएका ड्रेगन फलहरू मध्ये नेपालका ड्रागन फल रसिला, स्वादिला शीतलता दिने निकै मिठा छन् । 

Image result for dragon fruit

यसका फाइदाहरू के-के हुन् ?

एन्टिअक्सडेन्टको प्रमुख स्रोत मानिने यस फलमा प्रशस्त मात्रामा पानी हुने गर्दछ । यसको बीउमा ओमेगा ३ र ६, गुदीमा भिटामिन सी र छालाका लागि चाहिने तत्त्व पाइन्छ । प्रशस्त फाइबर भएकोले पाचन प्रणालीलाई चुस्त दुरुस्त बनाउँछ ।

  • यसमा पाइने क्याल्सियले दाँत र हड्डी बलियो बनाउँछ ।साथै यसले शरीरमा सेल उत्पादनमा पनि मद्दत पुर्‍याउँछ ।
  • छालासम्बन्धि विभिन्न रोग निको पार्नका लागि ड्रागन फलले सहयोगी भूमिका निर्वाह गर्छ । यसले कपाललाई पनि फाइदा पुर्‍याउँछ ।
  • यसको फल डेङ्गो, सुगर लगायतका बिरामीहरूका लागि जीवन नै वरदान पाए जस्तो हुनेगरि फाइदा गर्छ ।
  • यसमा भएको फोनोइन्टस भन्ने तत्वले मुटु सम्बन्धी रोग लाग्न दिँदैन ।
  • क्याल्सियम प्रशस्त पाइने हुनाले गर्वअवस्थाका महिला, बालबालिका, ज्येष्ठ नागरिक र रोगले दु:ख दिइरहनेहरूको लागि शक्तिवर्दक सञ्जीवनी साबित हुन्छ ।
  • अर्थराइटिसका बिरामीका लागि निकै उपयोगी र सौन्दर्यको श्रोतको रूपमा उपयोगी हुने फलको नाम नै ड्रेगन फल हो ।
  • कोलस्ट्रोल, उच्च रक्तचाप नियन्त्रणमा पनि यसले भूमिका निर्वाह गर्छ । यसले कब्जियतको समस्यालाई समेत निको पार्छ ।
  • क्यान्सरको सम्भावनाबाट टाढा रहनका लागि पनि यो फल सेवन गर्दा हुन्छ ।
  • यस फलले तौललाई सन्तुलनमा राख्ने काम पनि गर्छ । यो फल खाएपछि पेट खलास हुन्छ र कब्जियतको दोष ठीक पार्छ ।
  • बढ्दो उमेरका बालबालिकाका लागि यो फल निकै उपयोगी हुन्छ । आँखाको दृष्टिका लागि पनि यो उपयोगी फल हो ।

नेपालको लागि ड्रागन फल कति उपयुक्त ?

काठमाडौँको हावापानीमा वर्षको तीन पटक सम्म र माथि उल्लेखित हावापानी मिलेको ठाउँमा चार पटकसम्म फल्न सक्ने यस फलको खेति बढाउनु अहिले नितान्त आवश्यक देखिन्छ । एउटा बोट राम्रोसँग झाँगिएमा एक पटकमा पचास केजी सम्म फल लाग्ने यस फल नेपाली समाजको लागि निकै लाभदायी देखिन्छ ।

Image result for dragon fruit

उसो त् हाम्रो आन्तरिक तरकारी तथा फलफूल बजार त्यति ठूलो छैन ।  त्यहाँ आइपुग्ने प्रायश: तरकारी एवम् फलफूल छिमेकी देशको उत्पादन हो । धेरैले सुनेको तर चाख्न नपाएको यस फलको बजार यहि फलको बहुउपयोगिता र पोषणयुक्त फल हुनाकै कारण फस्टाउनेमा कुनै शंका छैन ।  

नेपालको हावापानीमा नै मनग्य उत्पादन हुने यस फललाई कच्चा पदार्थको रूपमा प्रयोग गरी जेली-जाम, जुस, वाइन, आइसक्रिम, मञ्जन लगायत उत्पादन गर्न सकिन्छ। अन्य मुलुकमा यो फल व्यवसायीक रुपमा स्थापित भए पनि नेपालमा भने यो फलले भर्खरै व्यसायीकता पाउन थालेको छ । जुन सुखदायी कुरा हो ।