शिक्षा

राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमपछि विद्यार्थीको अध्ययनमा सुधार

नेपालगञ्ज, २९ मङ्सिर । बर्दियामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सञ्चालन गरिएपछि विद्यार्थीहरुको अध्ययनमा सुधार आएको छ । सरकारले एक वर्षअघि सञ्चालन गरेको कार्यक्रमपछि विद्यार्थीहरुमा पठनशीलताको विकास भएको छ । कार्यक्रमपछि कक्षा १, २ र ३ का विद्यार्थीहरुको पठन सीप क्षमतामा सुधार आएको तथा शैक्षिक जग पनि बलियो भएको कार्यक्रम प्रबन्धक शान्तकुमार चौधरीले बताए ।

कार्यक्रमअन्तर्गत बर्दियाका २९६ सामुदायिक विद्यालय र मदरसामा अध्ययरत १ देखि ३ कक्षासम्मका झण्डै २३ हजार बालबालिकालाई समेटिएको छ । नेपाल सरकारले देशका १६ जिल्लामा सञ्चालन गरेको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमअन्तर्गत बर्दियामा सामाजिक तथा समुदाय परिचालन गरेर कार्यक्रमलाई सफल बनाउने जिम्मेवारी बाँके युनेस्को क्लबले पाएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रेवकी अमात्यले जानकारी दिए ।

यसैगरी, शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी र सदस्य तथा अभिभावकलाई पनि कार्यक्रमभित्र समेटिएको क्लबका अध्यक्ष परवेजअली सिद्धिकीले बताए । कार्यक्रमअन्तर्गत १ देखि ३ कक्षासम्मका बालबालिकाको पठन सीपको महत्वबारे अभिभावकलाई बुझाउने तथा बालबालिकाको पढाइमा सहयोग गर्न अभिभावकलाई प्रेरित गर्ने गरिएको छ ।

सोही कार्यक्रमअन्तर्गत बर्दियाका ९५ वटा विद्यालय र मदरसालाई अधिकतम रु दुई/दुई लाख अनुदान सहयोगसमेत उपलब्ध गराइएको छ । कार्यक्रम सञ्चालनका लागि बर्दियामा परियोजनाको कार्यालय स्थापना गरिएको छ भने समुदाय परिचालन अधिकृतलाई तोकिएको विद्यालयमा खटाइएको छ ।

राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमअन्तर्गत अभिभावकलाई दौँतरी शिक्षा तालीम, स्थानीयस्तरमा शैक्षिक सामग्री निर्माण, पढाइ उत्सव, अभिभावक शिक्षक सम्मेलन तथा पैरवी तथा चेतनामूलक अभियानलगायतका गतिविधिहरु सञ्चालन भइरहेको कार्यक्रम प्रबन्धक चौधरीले बताए ।