राजनीति

अध्यक्ष दाहालले पेश गरे राजनीतिक प्रतिवेदन, बैठक समयमा गर्न नसकेकोमा आत्मालोचना

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आइतबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । पार्टी कार्यालय धुम्वाराहीमा शुरु भएको बैठकमा पहिलो दिन अध्यक्ष दाहालले  १७ पृष्ठ लामो प्रतिवेदन पेश गरेका स्थायी समिति सदस्य चक्रपाणि खनाल बलदेवले जानकारी दिए । 

प्रतिवेदनमा उनले पार्टीको बैठक समयमा गर्न नसकेकोमा आत्मालोचना गरेका छन् भने अब यस्तो नगर्ने प्रतिवद्धता जनाएका छन् । स्थायी समिति बैठक पनि धेरै ढिला शुरु भएको भन्दै कमजोरी भएको उनले बताएका थिए। नेकपाको विधानमा स्थायी समिति बैठक प्रत्येक तीन महिनामा बस्ने प्रावधान रहेको छ ।

बैठक ठीक एक वर्षपछि शुरु भएको र केही महत्त्वपूर्ण एजेन्डाहरु रहेका वरिष्ठ नेता झलनाथ खनालले बताए । ‘सबैभन्दा महत्त्वपूर्ण एजेन्डा राजनीतिक प्रतिवेदन अध्यक्षले प्रस्तुत गर्नुभयो’, उनले भने, ‘विधान संशोधनको प्रस्ताव महासचिवले प्रस्तुत गर्नुभएको छ ।’

कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकमा अध्यक्ष दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पार्टीको विधान संशोधन, सरकारको समीक्षा, आगामी ६ महिने कार्ययोजना, केन्द्रीय समिति बैठक बोलाउने लगायतका विषय समेटिएका छन् । 

आइतबारको बैठक सकिएको छ । बैठक सोमबार बिहान ११ बजे पुन: बस्नेछ ।