राजनीति

नेकपाको स्थायी कमिटी बैठक बस्दै, प्रधानमन्त्री गएनन्

काठमाडौं । सत्तारूढ नेपालकम्युनिष्ट पार्टी(नेकपा) को स्थायी कमिटी बैठक शुरु भएको छ । पुष्पकमल दाहालको अध्यक्षतामा पार्टी कार्यालय धुम्बाराहीमा बैठक शुरु भएको हो ।

इन्स्टाग्राममा तस्बिर सार्वजनिक गर्दै अध्यक्ष दाहालले बैठक शुरु भएको जानकारी गराएका छन् । “नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा अध्यक्ष प्रचण्डको अध्यक्षतामा शुरु,” इन्स्टाग्राममा तस्बिरसँगै उनले लेखेका छन् ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटामार बसेको नेकपाको सचिवालय बैठकले स्थायी कमिटी बैठकका लागि प्रस्ताव तय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

स्रोतले बताएअनुसार स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । दाहालले अध्यक्षसँग रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शमा राजनीतिक प्रतिवेदन तयार गरेको बताइएको छ । बैठकमा पार्टीको विधान संशोधन, नेपाल–भारत सीमा समस्या, केन्द्रीय कमिटी बैठकलगायतका एजेन्डा पनि पेस हुने छन् ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली भने उपस्थित भएका छैनन् । नेकपाको स्थायी कमिटी ४५ सदस्यीय छ।