प्रदेश 1

टेलर र टेम्पु एकआपसमा जुध्दा दुईको मृत्यु, थप दुई घाइते

धनकुटा । आइतबार जिल्लाको छथर जोरपाटी गाउँपालिका–२, फलैचामा दुई सवारी एकआपासमा ठोक्किदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । आज दिउँसो टेलर र टेम्पु आपसमा जुधेर भएकाे दुर्घटनामा थप दुई जना घाइते भएका छन् ।

हिलेबाट जोरपाटीतर्फ जाँदै गरेको को२ह ६६११ नम्बरको टेम्पु र विपरीत दिशाबाट आइरहेको को१ख ६९१२ नम्बरको टेलर दिउँसो करिब १२ बजे ठोक्किएको जिल्ला प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी टेम्पुचालक धनकुटा–२ का २५ बर्षीय दशरथ पाख्रीन र टेम्पुमा सवार तेह्रथुम छथर गाउँपालिका–१ का ४२ वर्षीय साङ्गे शेर्पाको घटनास्थलमै मृत्यु भएको हो ।

टेम्पुमा सवार छथर जोरपाटी गाउँपालिका–५ का २२ वर्षीय रविन घिमिरे र तेह्रथुमको लालिगुँरास नगरपालिका–५ का २५ वर्षीय प्रदिप बस्नेत घाइते भएका छन् ।

उनीहरूलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल लगिएको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले जानकारी दिए । डोजर बोक्न प्रयोग गरिने टेलर र टेलर चालक संखुवासभा मादीमुलखर्क–५ का ३९ वर्षीय ज्ञानबहादुर गुरुङलाई सिधुवा प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।