कृषि

बजार पाउँदै बाग्लुङको किबी

बाग्लुङ । अन्य जिल्लामा किबीखेतीले बजार र मूल्य नपाएको किसानले गुनासो गरिरहेको बेला बागलुङमा उत्पादन भएको किबी भने जिल्ला बाहिर निर्यात हुन थालेको छ । बागलुङ जिल्लाको निसिखोला गाउँपालिकामा उत्पादन भएको किबी बुटवल, पोखरालगायतका स्थानमा निर्यात भइरहेको छ ।

विदेशमा समेत प्रशस्तरुपमा उत्पादन हुने किबी महङ्गो फलमध्येको पर्दछ । निसिखोला गाउँपालिका–४ थापागाउँका लीलाबहादुर घर्तीले पाँच वर्ष पहिले व्यावसायिक रुपमा गर्दै आएका किबीखेतीले अहिले उत्पादन दिन थालेपछि बजार पठाउन भ्याइनभ्याइ छ ।

घर्तीले यही याममा मात्र रु. तीन लाख बराबरको किबी बजारमा बिक्री गरिसकेको बताए । ‘‘उत्पादन भए बजारीकरणको समस्या छैन,’’ राष्ट्रिय किसान समूह महासङ्घका जिल्ला अध्यक्षसमेत रहनुभएका घर्तीले भन्नुभयो, “बुटवल र पोखरा मात्रै ८०० केजी किबी पठाए ।”

उनले अहिले पनि गाउँघरमा पाकेको किबी बिक्री वितरण गरिरहेको बताए । घर्तीको बारीमा अहिले १२ रोपनी क्षेत्रफलमा नयाँ तथा पुरानो गरी ९६ वटा किबीका बिरुवा छन् । एक बिरुवाबाट ७० केजीदेखि १२० केजीसम्म किबी उत्पादन हुने घर्तीको भनाइ छ । ‘‘अहिले चार रोपनी क्षेफलमा किबीखेती विस्तारमा लागिरहेको छु’’ उनले भने ।

एकै बिरुवाले उत्पादन धेरै दिने भएका कारण बलियो थाँक्रो आवश्यक पर्ने खत्रीको अनुभव छ । उत्पादन गर्न सके बजारको समस्या नभएको घर्तीको भनाइ छ । व्यावसायिक खेतीसँगै उत्पादन र बजारीकरणमा आफूले पनि विभिन्न ठाउँको बजार सम्भाव्यता अध्ययन गर्ने र समन्वय गर्ने हो भने किसान मर्कामा पर्नसक्ने जोखिम निकै कम भएको उनको अनुभव छ ।

घर्तीले व्यावसायिक रुपमा केरा र ओखरखेती थालेका छन् । किबीलाई बुटवल र पोखरामा प्रतिकेजी रु. ५०० मा बिक्री गरेको उनी बताउँछन्। घरबाट भने रु ४५० मा बिक्री गरेको घर्तीको भनाइ छ । अझै एक लाख बराबरको किबी बिक्रीका लागि तयारी भइरहेको उनको भनाइ छ । किबीखेती विस्तारका लागि रु १८ लाख लगानी गरिसकेका छन् ।