गण्डकी प्रदेश

भानुभक्तीय टोपी निर्माण गर्न अनुदान, महिलालाई मेसिन सहयोग

दमौली । तनहुँको भानु नगरपालिकाले भानुभक्तीय टोपी निर्माणसम्बन्धी तालीम प्राप्त महिलालाई मेसिन सहयोग गरेको छ । नगरपालिकाले विभिन्न वडाका छ महिलालाई अनुदानमा विद्युतीय मेसिन सहयोग गरेको हो ।

नगरपालिकाले भानुभक्तीय टोपी निर्माण गर्न छ महिलालाई गत असारमा तालीम प्रदान गरिएको भानु नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख अधिकृत कृपाहरि लौडारीले जानकारी दिए ।

रु १७ हजार ५०० पर्ने उक्त मेसिनका लागि नगरपालिकाले ७० प्रतिशत अनुदान दिएको छ भने सम्बन्धित महिलाले ३० प्रतिशत लगानी गरेका छन् । महिला लक्षित कार्यक्रमअन्तर्गत ती महिलालाई दमौलीस्थित निखिल ढाका कपडा उद्योगमा १० दिनको तालीम प्रदान गरिएको थियो । तालीमप्राप्त महिलालाई व्यावसायिक बनाउन मेसिन प्रदान गरिएको नगर उपप्रमुख आशा थापाले जानकारी दिए । उपप्रमुख थापाले भने, “यसले महिलालाई आत्मनिर्भर बनाउन र भानुभक्तीय टोपी उत्पादनका लागि सहयोग पुग्नेछ ।”

मेसिन प्राप्त गरेका महिलाले उत्पादन गरेको भानुभक्तीय टोपीको बजार व्यवस्थापनका लागि नगरपालिकाले सहयोग गर्ने नगर प्रमुख उदयराज गौलीले बताए । उनका अनुसार यहाँ उत्पादित टोपी जिल्ला समन्वय समितिसँग सहकार्य गरेर जिल्लाका अन्य स्थानीय तहमा पनि बिक्री वितरणको व्यवस्था मिलाउन पहल गरिनेछ ।

भानु नगरपालिकाले नगरपालिका क्षेत्रभित्रका विद्यालय, सङ्घसंस्थालगायतमा भानुभक्तीय टोपी अनिवार्य गर्न लागेको छ । त्यसको शुरुआत भानु नगरपालिकाले आफ्नै कार्यालयबाट असार १ गतेदेखि शुरु गरे पनि अहिले कर्मचारी एवं जनप्रतिनिधिले नै उक्त टोपी नलगाउने गरेको गुनासो आउन थालेको छ ।

“औपचारिक कार्यक्रममा मात्रै भानुभक्तीय टोपी लगाउने र अरु बेला नलगाउने गरेको गुनासो आएको छ,” सामाजिक शाखा प्रमुख लौडारीले भने, “सबैलाई भानुभक्तीय टोपी अनिवार्य गर्ने विषयमा छलफल भइरहेको छ ।” पहिला खरीद गरिएको टोपी बाक्लो भएकाले गर्मी मौसममा टोपी लगाउन समस्या परेको लौडारीले बताए । “अब पातलो र सहजरूपमा लगाउन मिल्ने खालका टोपी भानुमै उत्पादन हुन्छ”, उनले भने ।