खेलकुद

पोखरामा प्रिमियर लिग (पिपिएल) आजदेखीः सुरुवाति खेल पोखरा पल्टन र काठमाडौँ गोल्डेन्सको

पोखरा । पोखरामा आजदेखी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल ) टी–२० क्रिकेट प्रतियोगिताको हुरुवात हुँदै छ । उद्घाटन खेल साबिक विजेता पोखरा पल्टन र काठमाडौँ गोल्डेन्सबीच हुँदैछ । शनिबारदेखि प्रतियोगिता शुभारम्भ गर्ने कार्यक्रम रहे पनि मौसममा आएको खराबीले प्रतियोगिता एक दिन पछि सारिएको थियो ।

प्रतियोगिता आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्वी लामाले पिच, अस्थायी प्यारापिट, प्लेयर बक्स, मिडिया सेन्टर लगायतको आवश्यक सम्पूर्ण तयारी पूरा भएको बताउँदै ६ वटै टोलीका खेलाडीसमेत पोखरा आइपुगेका जानकारी दिएका छन् ।

आगामी पुस १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताले क्रिकेट खेलप्रतिको आकर्षण बढाउनुका साथै पोखरालाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउनसमेत मद्दत पुग्ने भएकाले पर्यटन प्रवद्र्धनमा सघाउने विश्वास लिइएको छ । नेपाली क्रिकेटमा सर्वाधिक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले २७ लाख तथा उपविजेताले १० लाख पुरस्कार पाउनेछन् ।

‘म्यान अफ दी सिरिज’, ‘उत्कृष्ट ब्याट्सम्यान’ र ‘उत्कृष्ट बलर’ गरी तीन खेलाडीलाई टिभिएस मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ । त्यसैगरी प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई एक लाख, ‘इमर्जिङ’ खेलाडीलाई ५० हजार तथा प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’लाई १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा साबिक विजेता पोखरा पल्टन, विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौँ गोल्डेन वारियर्स र एक्सपर्ट धनगढी ब्लुज गरी देशका विभिन्न ६ शहरका ६ टोलीको सहभागिता रहेको छ । शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका थिए ।