लुम्बिनी

कानून जान्दिन भन्न पाइदैन : प्रदेश सभामुख घर्ती

रुपन्देही, २८ मङ्सिर । प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले सभ्य समाज निर्माणका लागि कानूनको अनिवार्य पालना गर्नु सबैको दायित्व भएको बताएका छन् । कालिका मानव ज्ञान माध्यमिक विद्यालयले आज बुटवलमा आयोजना गरेको कानूनी शिक्षा महोत्सवको उद्घाटन समारोहमा उनले कानूनको अनभिज्ञता क्षम्य नहुने भएकाले सबैले कानूनको पालना गर्नुपर्नेमा जोड दिए । “कानून जान्दिन भनेर उम्कन पाइदैन, यसबारे सबै जानकार हुनुपर्छ”, उनले भने ।

सभामुख घर्तीले विद्यालयमा अध्यापन हुने सबै विषय महत्वपूर्ण हुने बताउँदै अध्ययन गरेको विषयमा विशेषज्ञता हासिल गर्न विद्यार्थीहरुलाई आग्रह गरे । नेपाली काँग्रेसका प्रदेश संसदीय दलका सचेतक निर्मला क्षेत्रीले कानूनको विषयमा सबै जानकार रहनुपर्ने बताइन । प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले कानूनको पालनाले देशलाई सभ्य र सुसंस्कृत बनाउने धारणा राखे । अर्का प्रदेशसभा सदस्य कमला विश्वकर्माले निर्माण गरिएका कानूनहरुको अक्षरस पालनाका लागि नागरिकहरुमा सचेतना जगाउनुपर्नेमा जोड दिए ।

उच्च अदालत तुल्सीपुर बुटवलका न्यायाधीवक्ता नवराज थपलियाले पद र प्रतिष्ठाका लागि कानून व्यवसायीहरू बीचमै मतभेद हुन नहुने बताए । लुम्बिनी बौद्ध विश्व विद्यालयका रजिष्ट्रार तिलक आचार्यले कानून विषय अध्यनका लागि अहिले रुपन्देही बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको बताए ।