अन्तर्राष्ट्रिय

अल्जेरियाका नवनिर्वाचित राष्ट्रपतिद्वारा वार्ताको आह्वान

अल्जियर्स, २८ मङ्सिर । अल्जेरियाका नवनिर्वाचित राष्ट्रपति अब्देलमाजीद ताबूनले वार्तामा आउन सवैलाई आह्वान गरेका छन् । असन्तुष्ट र आन्दोलनरत सबै पक्षलाई उनले वार्तामार्फत् नै निकास निकाल्न आह्वान गरेको समाचारमा जनाइएको छ ।

उनले वार्तामार्फत् आन्दोलनकारीको जायज माग सम्बोधन गर्न आफु सधैँ तयार रहेको पनि शुक्रबार स्पष्ट पारेको छ । नयाँ राष्ट्रपति चयनका लागि अल्जेरियामा बिहिबार भएको निर्वाचनबाट पूर्वप्रधानमन्त्रीसमेत  रहेकाका ताबून राष्ट्रपतिमा निर्वाचित भएको हो । उनलाई निर्वाचन आयोगले शुक्रबार देशको आठौँ राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ ।

राष्ट्रपति निर्वाचित भएपछि पत्रकारसँगको कुराकानीका क्रममा उनले असन्तुष्ट र आन्दोलनरत सवै पक्षसँग वार्ता गर्ने आफ्नो पहिलो कार्यभार भएको उल्लेख गरेको छ । उनले देशको राजनीतिमा तात्विक परिवर्तन गराउने र पुरानो प्रणालीलाई नयाँरुपमा ल्याउने आफ्नो मुख्य उद्देश्य रहेको बताएका छन् ।

“आफ्नो अर्को प्राथमिकता भनेको नयाँ संविधान बनाउनु पनि हो,” उनले पत्रकारसँग भने, “त्यसका लागि मैले धेरै फराकिलो दायरामा छलफल गर्नेछु ।” अल्जेरियालाई नयाँ तरिकाले अगाडि बढाउनका लागि सामाजिक, आर्थिक, बौद्धिक र राजनीतिक क्षेत्रका अगुवा र नागरिक अधिकारकर्मीसँग छलफल गरेर संविधानको मस्यौदा बनाउने उहाँको भनाइ छ ।

उनको निर्वाचनसम्वन्धी कानुनमा पनि केही संशोधन गर्ने आश्वासन दिएको छ । निर्वाचन कानुन ठिक नभएको भन्दै आन्दोलनकारीले प्रदर्शन गरिहेका बेला उहाँले सो कानुन संशोधन हुने आश्वासन दिएको हो ।

निर्वाचन कानुनमा सुधार नगरी चुनाव गरिएकाले अल्जेरियामा राजनीतिक स्थिरता नहुने प्रदर्शनकारीले दावी गर्दै आएका छन् । अनेक असन्तुष्टीका कारण अल्जेरियामा झण्डै दश महिनादेखि आन्दोलन हुँदै आएको छ ।

आन्दोलनकाबीच राष्ट्रपति चयनका लागि गत बिहीबार निर्वाचन भएको छ । निर्वाचनमा प्रतिश्पर्धा गरेकामध्ये अत्यधिक धेरै मतान्तरले विजयी हुनुभएका तेब्बौन झण्डै दुई दशकदेखि राष्ट्रपतिका रुपमा शासन गरेका अब्देलाजिज बोटेफ्लिकाको उत्तराधिकारी भनेका छन् ।

अफ्रिकी मुलुक अल्जेरियाका तत्कालिन राष्ट्रपति बोटेफ्लीकाले गत अप्रिल मै आन्दोलनकारीको चर्को दबावपछि राजीनामाको घोषणा गरेका थिए । उनी आफै फेरि उम्मेदवार बन्ने बताएपछि आन्दोलनकारीले उहाँलाई राजीनामा दिन र उम्मेदवार नबन्न माग गर्दै आन्दोलन गरेका थिए ।

वृद्ध र बिरामी हुनुका साथै लामो समयदेखि शासन गरेकाले ८२ वर्षीय वृद्ध र बिरामी राष्ट्रपति अब्देलाजिजलाई पाँचौँ कार्यकालमा पनि जिम्मेवारीमा नआउन उनीहरूले माग गरेका थिए । त्यही दबावअनुसार उनले केही समयपछि राजिनामा दिएका थिए ।

त्यसपछि पनि आन्दोलन जारी रहेको थियो । आन्दोलनकै कारण गत जुलाई ४ का लागि तोकिएको निर्वाचन सारेर गत बिहीबार डिसेम्बर १२ का दिन गरिएको थियो । त्यतिबेला निर्वाचन अहिलेलाई सारेर अब्देलकादेर बेनसालाहलाई अन्तरिम राष्ट्रपति बनाइएको थियो ।

अन्तरिम राष्ट्रपतिले गराउन लागेको निर्वाचन पनि निष्पक्ष र स्वतन्त्र हुन नसक्ने भन्दै अन्दोलनकारीले प्रदर्शनलाई जारी राखेका थिए ।निर्वाचनको दिन बिहीबार पनि उनीहरूले अल्जियर्समा प्रदर्शन गरेका थिए । दसौँँ हजार आन्दोलनकारीले विरोध प्रदर्शनका क्रममा कतिपय मतदान केन्द्रसमेतमा आक्रमण गरेको र अवरोधको प्रयास गरेका थिए ।

आन्दोलन र विरोधकाबीच भएको निर्वाचनबाट ७४ वर्षीय ताबूनले ५८.१५ प्रतिशत मत प्राप्त गरी राष्ट्रपति चयन भएको हो । उनीसँगै प्रतिश्पर्धामा उत्रिएका मध्ये अब्डेलकाडेर बेन्ग्रीनाले १७.३८ प्रतिशत मत प्राप्त गरेर दोस्रो हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी तेस्रो हुनुभएका अली बेन्फ्लीसले १०.५५ प्रतिशत, चौथो हुनुभएका अज्जेड्डीन मिहौबीले ७.२६ प्रतिशत र पाँचौँ हुनुभएका अब्डेलाजिज बेलैडले ६.६६ प्रतिशत मात्रै मत प्राप्त गरेका छन् ।