बाग्मती

गोकर्णेश्वर र आर्भिङबीच भगिनी सम्बन्ध स्थापना गरिँदै

काठमाडौँ, २८ मङ्सिर । गोकर्णेश्वर नगरपालिका र अमेरिकाको टेक्सास राज्यस्थित सिटी अफ आर्भिङबीच भगिनी सम्बन्ध स्थापना गर्ने प्रक्रिया शुरु भएको छ । दुवै नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्ने उद्देश्यले गोकर्णेश्वरको तीन सदस्यीय प्रतिनिधिमण्डलले आर्भिङ शहरको १० दिने भ्रमण गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीको नेतृत्वमा वडा नं ५ का अध्यक्ष नारायण सुवेदी र वडा नं ६ का अध्यक्ष रमेश अर्यालले यसै हप्ता अमेरिकाको भ्रमण गरेका हुन् । सो अवसरमा गोकर्णेश्वरका नगरप्रमुख सन्तोष चालिसेले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा नेपालको भ्रमणमा आउन आर्भिङका नगरप्रमुख रिक स्टोफरलाई निमन्त्रण पठाएका थिए ।

दश दिने भ्रमणका क्रममा आर्भिङ शहरमा भएका फोहरमैला व्यवस्थापन, खानेपानी, दमकल, प्रहरी सेवा, आदि व्यवस्थापनको अवलोकन गरिएको टोली सदस्य वडाध्यक्ष अर्यालले राससलाई जानकारी दिए । आर्भिङका नगरप्रमुख नेपाल आएपछि दुवै शहरबीच सम्बन्ध स्थापित भई भगिनी सम्बन्ध कायम गर्न सहयोग पुग्ने जनाइएको छ । दुवै नगरका अधिकारीबीचको भ्रमण यसपछि बढ्दै जाने सम्झौतासमेत भएको उनले सुनाए । यसको संयोजन नेप्लिज अमेरिकन चेम्बर अफ कमर्स टेक्सासले गरेको नगरपालिकाले जनाएको छ ।