समाचार

केही स्थानमा अझैं वर्षा, र हिमपातको सम्भावना छः मौसम विज्ञान विभाग

काठमाडौं । पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमली भू–भागमा हिमपात र पूर्वका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले आज बिहान विशेष बुलेटिन जारी गर्दै देशका मध्य र पूर्वी भू–भागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको हो । मौसमविद्का अनुसार यो क्रम आज बेलुकासम्म कायम रही भोलिबाट क्रमशः सुधार हुँदै जाने बताइएको छ । “पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले उच्च पहाडीसहित हिमाली भू–भागका स्थानमा सतर्कता अपाउनु हुन अनुरोध गरिन्छ”, विभागले भनेको छ ।

विभागका अनुसार हाल देशको मध्य र पश्चिमी पहाडी भू–भाग र पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही केही भू–भागमा हल्का वर्षा भएको साथै उच्च पहाडी र हिमाली भू–भागमा हिमपातसमेत भएको जनाएको छ । हाल देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदली रहे पनि मध्य र पूर्वी पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले औँल्याएका छन् ।