साहित्य

फेवातालको किनारमा साहित्यिक मन्थन

पोखरा । पर्यटकीय नगरी पोखराको फेवाताल किनारामा आइएमई नेपाल लिटरेचर फेस्टिभल शुरु भएको छ । आठौँ संस्करणको महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज  उद्घाटन गर्दै नागरिकलाई आर्थिकरुपले मात्रै नभई बौद्धिक सबल बनाउनुपर्ने बताए।

उनले भने, “महोत्सव पोखरामा हुनु गर्वको विषय हो । प्रदेश कलाका साथै सांस्कृतिकरूपमा सम्पन्न रहेको छ । आदिकवि भानुभक्त आचार्य, कविशिरोमणि लेखनाथ पौडेल, भूपि शेरचन, जनकवि केशरी धर्मराज थापा, अलि मियाँका साथै राष्ट्रकवि माधवप्रसाद घिमिरे, जनकवि गोकुल जोशी, सरुभक्त, हरिदेवी कोइराला, अमृत गुरुङलगायतले नेपाली कला साहित्यमा ठूलो गुन लगाउनुभएको छ । ”

नेपाल लिटरेचर फेस्टिभलको पहिलो सत्र थियो, ‘लेक रहे पो रहला लेकसाइड ।’ फेवातालको आयु कसरी लम्ब्याउन सकिन्छ र माथिबाट बगेर आउने गेग्रानबाट कसरी जोउन सकिन्छ भनेर वैज्ञानिक अध्ययनका आधारमा सरकारले काम अगाडि बढाउनुपर्ने भन्नेबारे आज पहिलो सत्रमा छलफल भएको थियो ।

बुकवर्म फाउण्डेशन र र्याण्डम रिडर्स सोसाइटीद्वारा संयुक्तरूपमा आयोजित महोत्सव यही मङ्सिर ३० गतेसम्म जारी रहेने छ । विभिन्न ३५ भन्दा बढी सत्रमा महोत्सव सञ्चालन हुने छ । देश–विदेशका ११० भन्दा बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार, सम्पादक, विभिन्न क्षेत्रमा ख्यातिप्राप्त एवं विशिष्ट व्यक्तित्व महोत्सवमा सहभागी भएको आयोजकले जनाएका छन् ।

महोत्सवमा दक्षिण एशियाली क्षेत्रको सर्वोत्कृष्ट साहित्यिक पुरस्कार ‘डिएससी’ प्रदान गरिनेछ । दक्षिण एशियाली साहित्यिक पुरस्कार गुठीद्वारा स्थापित सो पुरस्कारको राशि अमेरिकी डलर २५ हजार ( करिव रु. २७ लाख ५० हजार) रहेको छ ।