कर्णाली प्रदेश

बलात्कार आरोपमा पक्राउ परेका साल्ट ट्रेडिङ्गका प्रमुख धरौटीमा रिहा

सुर्खेत । साल्ट ट्रेडिङ्ग कार्यालय सुर्खेतका प्रमुख रामबाबु गुप्ता आज धरौटीमा रिहा भएका छन् । जागीर लगाई दिने भन्दै एक युवतीलाई बलात्कार गरेको आरोपमा उनी यही मङ्सिर ५ गते पक्राउ परेका थिए ।

कार्यालय प्रमुख गुप्ताले विभिन्न प्रलोभन देखाएर बलात्कार गर्ने गरेको र पछि ‘भिडियो बनाएको छु, सार्वजनिक गर्दिन्छु’ भन्दै डर देखाएर बलात्कार गर्दै आएको पीडितको युवतीले प्रहरीमा उजुरी दिएकी थिइन् । त्यही उजुरीका आधारमा कार्यालय प्रमुख गुप्ता पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब निरीक्षक रवि रावलले जानकारी दिए ।

कार्यालय प्रमुख गुप्तालाई रु. तीन लाख ५० हजार धरौटीमा रिहा गरिएको जिल्ला अदालत सुर्खेतका श्रेस्तेदार अधिकृत भोपाल भण्डारीले राससलाई जानकारी दिए । “गुप्ता कसुरदार देखिएकाले धरौटी लिएर छोडिएको हो,” रासससँग कुरा गर्दै श्रेस्तेदार अधिकृत भण्डारीले भने, “अनुसन्धान निरन्तर चलिरहन्छ ।” पीडित युवती भने डिप्रेसनका कारण अस्पतालमा उपचारत रहेको उनका आफन्तले जनाएका छन् ।

महिला अधिकारवादी पवित्रा शाहीले यस घटनाले अदालतको स्वच्छताप्रति नागरिकहरुको विश्वास मरेको बताइन् । उनले भनिन् “महिला, बालिकाहरु धमाधम बलात्कृत भइरहेका छन् । तर शक्ति र पैसाका भरमा पीडकलाई उन्मुक्ति दिएर पीडितलाई अझ पीडा दिइन्छ । यो कदापि सैह्य हुँदैन ।”