खेलकुद

पदकको सम्मान : वर्षाको बाबजुद पनि पदकधारी खेलाडीहरूलाई नगर परिक्रमा

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जितेका खेलाडीलाई आज(शुक्रबार) नगर परिक्रमा गराइएको छ । राष्ट्रिय खेलकुद परिषद(राखेप)ले १३औं सागका पदकधारी खेलाडीलाई नागरिक अभिनन्दन गरेको हो । 

 बर्षाका वीच परिषद्ले आयोजना गरेको नागरिक अभिनन्दन एवम् नगर परिक्रमामा खेलाडीहरूको उल्लेख्य सहभागिता रहेको थियो । नगर परिक्रमा त्रिपुरेश्वरस्थित राखेपबाट शुरु भएको थियो । सुरुआतमा राखेपका उपाध्यक्ष एवं नेपाली टोलीका सेभ दि मिसन पिताम्बर तिम्सिना, संघीय सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्य-सचिव रमेशकुमार सिलवाल, खेलाडी, प्रशिक्षक, संघका पदाधिकारीसहित टोली न्यु रोड, इन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क हुँदै भृकुटिमण्डपसम्म पैदल गएको थियो । 

भृकुटिमण्डपबाट टोली सिंहदरबार, माइतीघर, थापाथली, कुपण्डोल, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वरस्थित राखेपको हातामा प्रवेश गरेपछि नगर परिक्रमा कार्यक्रम सम्पन्न भएको थियो । पूर्व निर्धारित कार्यक्रम अनुसार कोटश्वरदेखि सूर्यविनायकसम्म तय गरिएको रुट भने वर्षाका कारण स्थगित गरिएको थियो ।

मंसिर-२४ गते सम्पन्न १३औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ४५ कांस्य पदक जितेको थियो । पदक विजेता खेलाडीहरुलाई सरकारले नगद पुरस्कारसमेत घोषणा गरिसकेको छ ।