कर्णाली प्रदेश

मालपोतमा अनलाइनको काम सुस्त

जुम्ला ।  मालपोत कार्यालय जुम्लामा अनलाइन प्रणालीबाट सेवा सञ्चालन भएदेखि सेवाग्राहीले दुःख पाएको गुनासो गरेका छन् । पहिले एक दिनमै हुने काम अहिले अनलाइनबाट हुँदा एक हप्तादेखि झण्डै एक महिनासम्म लाग्ने गरेको सेवाग्राहीले गुनासो गरेका छन् ।

कनकासुन्दरी गाउँपालिका–८ भट्टवाडाकी विष्णुमाया भट्टले मालपोत कार्यालय धाउन लागेको छ दिन भएको बताइन्। अझै कति दिन लाग्ने भन्ने थाहा नभएको उनको गुनासो छ। भट्टवाडाकै कृष्ण भट्ट पनि मालपोत धाउन लागेको आठ दिन भयो । प्रणालीले काम नगर्दा काम हुन नसकेको कर्मचारीले बताउने गरेका उनको भनाइ छ । बिना पूर्वतयारी हतारमा अनलाइन प्रणालीबाट सेवा दिँदा यस्तो परिणाम आएको भट्ट बताउछन् ।

गुठिचौर गाउँपालिका–४ प्याकुरेवाडाकी कर्मकन्या प्याकुरेल पनि मालपोत कार्यालय धाउन लागेको चार दिन भयो । उनी पनि कर्मचारीले इन्टरनेट छैन भनेर आफ्नो काम नभएको सुनाउछिन् । प्याकुरेलले वृद्ध सासूलाई यसरी हरेक दिन मालपोतमा ल्याउँदा दुःख भएको बताइन् । प्याकुरेवाडाकै कृष्णप्रसाद प्याकुरेलले टोकनअनुसार काम नभएको बताए । उनले २० दिन मालपोत धाउँदा पनि काम नभएको दुःखेसो पोखे ।

यसरी २० दिनसम्म मालपोत धाउँदा आफ्नो दैनिक कार्यमा बाधा पुगेको उनी सुनाउछन् । मालपोत कार्यालयका प्रमुख मीनबहादुर रावलले इन्टरनेट नचलेकै कारण ढिला भएको स्वीकार गरे । बिहान–बेलुका इन्टरनेट चल्ने तर दिउँसो कार्यालय समयमा नचल्दा समस्या भएको प्रमुख रावलले बताए ।

इन्टरनेट नचल्दा दिनमा एक/दुईवटा मात्र काम हुने गरेका उनले बताए । इन्टनेट नचलेर काम नहुँदा स्वाभाविक रुपमा सेवाग्राहीको गुनासो आउने गरेको उनको भनाइ छ । ढिलासुस्तीको समाधान हुन अझै केही दिन लाग्ने रावलले जानकारी दिए । उनले वृद्धवृद्धा, अशक्त जस्ता शारीरिक कमजोरी भएका बाहेक अरू सबैलाई टोकनअनुसार नै काम गरेको उनले बताए ।