पु.समाचार

सडक मर्मतका लागि छुट्याइएको रकम खर्च भएन

काठमाडौँ  । सडक बोर्ड नेपालले काठमाडौँ उपत्यका लगायत देशभरका विभिन्न सडकका खाल्डाखुल्डी मर्मतका लागि छुट्याएको रकम खर्च हुन सकेको छैन । बिभिन्न जिल्लामा रहका डिभिजन सडक कार्यालय सडक मर्मतमा भन्दा नयाँ निर्माणमा लाग्दा मर्मतको काम योजनाभन्दा कम सम्पन्न भएको छ ।

केही वर्षदेखि बर्सेनि ८० देखि ८५ प्रतिशतसम्म मात्रै बजेट खर्च भइरहेको सडक बोर्ड नेपालका कार्यकारी निर्देशक कृष्णसिंह बस्नेतले बताए । उनका अनुसार एकातिर सडक बोर्डले अझै पनि नेपाल सरकारबाट पाउनुपर्ने जति रकम पाइरहेको छैन भने अर्कातिर भएको बजेट पनि खर्च हुन सकिरहेको छैन । सडक डिभिजनलाई सडक विभागले नयाँ निर्माणमा लगाइरहेको छ ।

उनले भने, “नयाँ निर्माणको काम परियोजनामार्फत गरेर पनि डिभिजन कार्यालयलाई मर्मतको काममा लगाउनुपर्छ ।” सडक बोर्डले सडक उपभोग दस्तुर पेट्रोलियम पदार्थबाट सडक मर्मतका लागि बजेट व्यवस्थापन गर्दै आएको छ । सङ्कलन भएको बजेट देशभरका डिभिजन सडक कार्यालयबाट खर्च भइरहेको उनले बताए ।

गत आवमा रु २५ अर्ब रकम सङ्कलन भएकामा सडक मर्मत, सुधारका लागि रु आठ करोड छुट्याइएको छ । बोर्डले अहिलेसम्म सात स्थानमा सडक दस्तुर सङ्कलन गर्दै आएकामा छिट्टै थप सात स्थानमा दस्तुर सङ्कलनको योजना बनाएको जनाएको छ ।