सुदूरपश्चिम

बाजुरामा हिमपात शुरु

बाजुरा । बाजुरामा बिहीबार अपरान्ह्देखि हिमपात र वर्षा शुरु भएको छ । जिल्लाका मार्तडीको पोरखे, बिच्छ्या, दहकोट, जुकोट, रुगिीन, आटिचौरका माथिल्ला दर्जनभन्दा बढी स्थानमा हिमपात शुरु भएको छ ।

हिमपातसँगै तल्लो क्षत्रेतिर चिसोका कारण जनजीवन प्रभावित बनेको छ । अहिले माथिल्लो लेकाली क्षेत्रमा भारी हिमपात भएको छ भने तल्लो क्षेत्रमा वर्षा भइरहेकाले अत्यधिक चिसोका कारण मानिसलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ ।

चिसोका कारण जिल्लाका विभिन्न नगर तथा गाउँपालिका आसपासका स्थानीय हाटबजार आंशिक रुपमा बन्द छन् भने कतिपय गाउँमा विद्यालय पनि बन्द गरिएको छ । हिमाली क्षेत्रमा भारी हिमपातले घर बाहिर निस्कनसमेत समस्या भइरहेको गौमूलका वासिन्दा प्रेम सार्कीले जानकारी दिएका छन् ।

चिसो छल्न बेँसी झरेकालाई पनि बिहीबारदेखि बढेको चिसोले समस्या परेको छ । चिसोबाट बालबालिका, महिला, वृद्धवृद्धा बढी प्रभावित हुने भएकाले न्यानो भएर बस्न चिकित्सकले सुझाव दिएका छन् ।

आकाशे पानीको भरमा खेती गर्दै आएका किसान हिमपातसँगै वर्षा भएपछि खुशी भएका छन् । अहिले बाजुराको तापक्रम ६ डिग्री तल झरेको छ । जिल्लामा कात्तिकबाटै चिसो बढ्न शुरु भएको हो ।