पु.समाचार

आज दिनभर घाम नलाग्नेः काठमाडौं सहित विभिन्न स्थानमा मध्यम वर्षा, उच्च पहाड र हिमालमा हिमपात

काठमाण्डौ । आज दिनभर मुलुकैभरीको आकाश नखुल्ने भएपछि  मुलुकभर चिसो अत्यधिक वढेको छ । आज मौसम बदली भई काठमाडौं उपत्यका सहित विभिन्न स्थानमा विहानैदेखी मध्यमखालको वर्षा भएपछि झनै जाडो महसुश भएको छ ।

आज दिनैभरि नै मौसम बदली भइ आकास नखुल्ने र सामान्य वर्षा जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उच्च पहाडी र हिमाली भेगमा हिउँ पर्ने सम्भावना छ । पश्चिमी वायुको निम्न चापीय प्रणालीको प्रभावले मौसम बदली भएको महाशाखाले जनाएको छ ।

पश्चिमी उच्च पहाडी र हिमाली भेगमा भने आज पनि धेरै हिउँ पर्ने र मध्य तथा पूर्वका उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि मध्यम खालको हिमपात हुने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी भेगमा हावाहुरी पनि आउने सम्भावना छ । यस्तै शनिबार र आइतबार पनि केही ठाउँमा पानी र उच्च भेगमा हिउँ पर्ने सम्भावना रहे पनि भारी हिमपात भने नहुने महाशाखाले निकालेको मौसम बुलेटिनमा उल्लेख छ ।

यसैबीच मौसम बद्ली भएर देशका विभिन्न ठाउँमा पानी पर्ने र हिमपात भए पनि न्यूनतम तापक्रम भने खासै घटेको छैन । केही ठाउँको न्यूनतम तापक्रम झनै बढेको छ । बिहीबार बिहान ७ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको काठमाण्डौको न्यूनतम तापक्रम शुक्रबार बिहान ९ डिग्री सेल्सियस मापन गरिएको छ ।

बिहीबार सबैभन्दा कम जोमसोमको तापक्रम २ डिग्रि सेल्सियस मापन गरिएको थियो भने जिरीको ६ दशमलव ८ डिग्री सेल्सियस, ताप्लेजुङको ६ डिग्री सेल्सियस, दाङको १० डिग्री सेल्सियस, जुम्लाको ३ दशमलव ९ डिग्री सेल्सीयस, डडेलधुराको ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो ।

राति बादल लागेकाले जमिनको तातो हावा बाहिर नगएकाले न्यूनतम तापक्रम बढेको महाशाखाले जनाएको छ ।