पु.समाचार

आजदेखी पुस १० गतेसम्म दैनिक चारघण्टा नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने

काठमाडौं । पहिरो रोकथामका लागि निमार्ण कार्य भैरहेकाले आजदेखी दैनिक चारघण्टा नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने भएको छ । पहिरो रोकथाम र मर्मतका लागि बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले बुधबार जिल्ला सुरक्षा समितिको बैठकपछि पुस १० गतेसम्मका लागि दैनिक चारघण्टा उक्त सडकखण्ड बन्द गर्न लागेको जनाएको छ ।

हिउंँदमा पनि सुख्खा पहिरो खस्ने जोखिम देखिएकोले दैनिक चारघण्टा बन्द गरेर काम गर्न लागिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार अहिले पनि पहिरो नियन्त्रणका लागि काम भएको भए पनि अति सुस्त भएकाले वर्षाअघि नै मर्मत कार्य सम्पन्न गर्नका लागि अहिले बन्द गर्न लागिएको हो ।

बैठकको निर्णय अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारी साधनलाई पन्ध्रकिलोमा रोकिनेछ भने मालवाहक सवारी साधनलाई दासढुंगामा रोकिनेछ । यसैगरी काठमाडौंबाट मुग्लिनतर्फ आउने यात्रुवाहक सवारीलाई मुग्लिन बजार र पोखराबाट आउने सवारी साधनलाई बेनिटारमा रोकिनेछ ।

काठमाडौंबाट मुग्लिनतर्फ आउने मालवाहक सवारी साधनलाई लेवाटारमा र पोखराबाट आउने मालवाहक सवारीलाई आँबुखैरेनीमा रोकिने प्रजिअ भट्टराईले जानकारी दिएका छन् । यो सडकखण्डमा दैनिक झन्डै १० हजार सवारी ओहोरदोहोर गर्दछन् ।