स्वास्थ्य

स्वास्थ्य चौकी भवन उद्घाटन

दमौली । तनहुँको व्यास नगरपालिका–१३ पोखरीभञ्ज्याङमा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण भएको छ । रु एक करोड ४४ लाख दुई हजार ९२७ को लागतमा आवाससहितको भवन निर्माण भएको हो ।

दुई तल्लामा १३ कोठा रहेको उक्त भवनमा ६ कोठा स्वास्थ्य कर्मीहरुका लागि कार्यालय र आवास तथा सात कोठा स्वास्थ्य परीक्षणको लागि प्रयोग गरिएको छ ।

सङ्घीय सरकारको आर्थिक लगानी तथा भवन निर्माण डिभिजन कार्यालय गोरखाको प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको उक्त भवनको बिहीबार व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गरेका हुन् ।

सो अवसरमा उनले स्वास्थ्य क्षेत्रको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउँदै हरेक वडामा एक स्वास्थ्य चौकी स्थापना गर्ने नगरपालिकाको अभियान रहेको जानकारी दिएका छन् ।

कार्यक्रममा नगरप्रमुख न्यौपानेले भवन निर्माणका लागि जग्गादान गर्ने जग्गादाता ईश्वरप्रसाद पाण्डेको परिवारलाई सम्मान गर्नुरे । स्थानीयवासी ईश्वरप्रसाद पाण्डे र चिजामाया पाण्डेले भवन निर्माणका लागि पाँच रोपनी जग्गा दान दिएका थिए ।

भवनबाट सेवासमेत शुरु भइसकेको स्वास्थ्य चौकीका प्रमुख सागर तिवारीले जानकारी दिएका छन् । यो भवनमा बर्थिङ सेन्टर सञ्चालन गर्ने गृहकार्य भइरहेको बताउँदै उहाँले स्वास्थ्य चौकीमा दैनिक १५ भन्दा बढी बिरामी स्वास्थ्य सेवा लिन आउने गरेका छन् ।