अन्तर्राष्ट्रिय

निर्वाचनको विरुद्धमा अल्जेरियामा प्रदर्शन, मतदान केन्द्रमा आक्रमण

एजेन्सी । अल्जेरियाको राजधानी अल्जियर्समा बिहीबार पनि दशौँ हजार आन्दोलनकारीले विरोध प्रदर्शन गरेका छन् । बिहीबार अर्थात डिसेम्बर १२ तारिखका लागि तय गरिएको निर्वाचनकै दिन उनीहरूले निर्वाचनको विरुद्धमा प्रदर्शन गरेका हुन् । प्रदर्शनसँगै उनीहरूले कतिपय मतदान केन्द्रमा समेत आक्रमण गरेको र निर्वाचनलाई बाधा पुर्याएको जनाइएको छ ।

लामो समयदेखिको आन्दोलन मत्थर पार्न र नयाँ सरकार बनाउन भन्दै भइरहेको निर्वाचनका विरुद्ध नै प्रदर्शन भइरहेको हो । निर्वाचनसँग सम्बन्धित कानूनमा व्यापक सुधार गर्नुपर्ने र पुरानो कानूनअनुसार हुने निर्वाचन आम नागरिकले चाहेजस्तो नहुने भएकाले प्रदर्शनमा उत्रिनु परेको आन्दोलनकारीहरूले जनाएका छन् ।

अल्जेरियामा गत जुलाई ४ का लागि निर्वाचनको मिति तोकिएको थियो तर योग्य उम्मेदवारको अभाव देखाउँदै निर्वाचन डिसेम्बर १२ का लागि सारेर अब्देलकादेर बेनसालाहलाई अन्तरिम राष्ट्रपति बनाइएको छ । निर्वाचन कानूनमा सुधार नगरी चुनाव गरिएकाले अल्जेरियामा राजनीतिक स्थिरता नल्याउने भन्दै उनीहरूले विरोध जारी राखेका हुन् ।

उनीहरूले सरकार र निर्वाचनका विरुद्धमा प्रदर्शन गरेको विदेशी सञ्चार माध्यमहरूले जनाएका छन् । अल्जेरियामा अधिकारकर्मीहरूले झण्डै दश महिनादेखि आन्दोलन गर्दै आइरहेका छन् । यसअघि अफ्रिकी मुलुक अल्जेरियाका तत्कालीन राष्ट्रपति अब्देलाजिज बौटेफ्लीकाले गत अप्रिलका लागि तय भएको निर्वाचन पनि स्थगित गरिएको थियो ।

उनि आफै उम्मेदवार बन्ने विषयले पनि आन्दोलनकारीहरूलाई थप आक्रोशित बनाएपछि निर्वाचन स्थगित गरिएको थियो । वृद्ध र बिरामी हुनुका साथै लामो समयदेखि शासन गरेकाले ८२ वर्षीय वृद्ध र बिरामी राष्ट्रपति अब्देलाजिजलाई पाँचौँ कार्यकालमा पनि जिम्मेवारीमा नआउन उनीहरूले माग गरेका थिए । त्यही दबाबअनुसार उनले केहीसमयपछि राजीनामा दिएका हुन् ।

अल्जेरियाको राजधानी अल्जियर्सलगायत देशका कयौँ शहरमा पनि व्यापक विरोध भइरहेको जनाइएको छ । अल्जेरियाली युवामा आर्थिक अवसरको कमीका कारण निराशा उत्कर्षमा पुगेको छ भने मुलुकमा नयाँ राजनीतिक नेताको माग भइरहेको छ ।