प्रदेश 1

सरकार आर्थिक समृद्धिको यात्रामा हिँडिरहेको छः मुख्यमन्त्री राई

बिराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकार आर्थिक समृद्धको यात्रामा हिँडिरहेको बताएका छन् । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले आज यहाँ आयोजना गरेको प्रदेशस्तरीय एकदिने गोष्ठीमा उनले सङ्घीय कार्यक्रमलाई प्रदेश सरकारको सहकार्यमा युवालाई मुलुकको आर्थिक समृद्धसँग जोडिएको दावी गरे ।

मुख्यमन्त्री राईले कोषका लगानीसम्बन्धी विविध समस्या हल गर्नुपर्नेमा जोड दिँदै रोजगारी, युवा विकास र कृषि उत्पादनमा आत्मनिर्भरका लागि आवश्यक वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले मुलुकलाई समृद्ध बनाउन सरकार र कोषको प्रयासले मात्र सम्भव नहुने हुनाले आर्थिक खम्बाका रुपमा रहेको सहकारीले सबैलाई समृद्धिमा जोड्नुपर्ने जरुरी रहेको उल्लेख गरे ।

कोषका कार्यकारी उपाध्यक्ष डा प्रेम दङ्गालले कोष सञ्चालनका लागि संरचना सुधारको तयारी भइरहेको जानकारी दिँदै बेरोजगार युवालाई ऋण उपलब्ध गराई वैदेशिक रोजगारमा जानुपर्ने बाध्यतालाई हटाउने बताए ।

कोषले सहकारीको माध्यमबाट युवा तथा साना व्यवसायीलाई बिनाधितो ऋण उपलब्ध गराउँदै आएको छ । कोषले सहकारीलाई पहिलो चरणमा ५० लाख दिने गरेको छ भने दोस्रो चरणमा एक करोडसम्म उपलब्ध गराउँदै आएको छ जस्तो चुक्ता गर्नुपर्ने म्याद तीनवर्षे हुनेछ ।

व्यावसायिक खेती, पशुपक्षीपालन, कृषि तथा वनजन्य उद्योग, घरेलु उद्योग तथा अन्य व्यापार, विद्युतीय रिक्सा ठेलागाडा सेवा सञ्चालन, परम्परा सीपसँग सम्बन्धित व्यवसाय, घरवास, स्थानीय कच्चा पदार्थ प्रयोग गरी गरिने उद्योगलाई सहकारी माध्यमबाट बिना धितो ६० प्रतिशत ब्याज सहुलियतसहित ऋण उपलब्ध गराउँदै आएको छ । कार्यक्रममा प्रदेशका १४ जिल्लाका १३७ स्थानीय निकायमा रहेका सहकारीहरुको सहभागिता थियो ।