समाचार

चितुवाको छालासहित एक पक्राउ

दैलेख, २६ मङ्सिर । दैलेखमा चितुवाकोे छालासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेखको चामुण्डा बिन्द्रासैनिनगरपालिका–४ तिलुखानाका ६८ वर्षीय शिवबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले बताए ।

शाहीले आफ्नै घरमा चितुवाको छाला लुकाइछिपाई राखेको भन्ने विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय दैलेख र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट गएको संयुक्त टोलीले बुधबार दिउँसो शाहीको घरबाट सात फिट आठ इन्च लम्बाइ र दुई फिट दुई इन्च चौडाइ भएको पाटे चितुवाकोे छालासहित पक्राउ गरेको वलीले बताए । उनको घरबाट ९५ वटा चितुवाकोे हड्डीका टुक्रा पनि बरामद गरिएको छ ।

वन डिभिजन कार्यालय दैलेखका प्रमुख मनबहादुर रावतले निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र निमावली, २०३१ अनुसार कारवाही हुने बताए ।