शिक्षा

पोखरामा वैज्ञानिक प्रविधियुत्त कफी एकेडेमी सञ्चालनमा

चिप्लेढुङ्गा, २६ मङ्सिर । कफी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने र कफी व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ पोखरामा अन्तर्राष्ट्रिय मान्यताप्राप्त वैज्ञानिक प्रविधियुक्त कफी एकेडेमी अफ एक्सलेन्स नेपाल सञ्चालनमा आएको छ ।

एकेडेमीको उद्घाटन कार्यक्रममा आज राष्ट्रिय चिया तथा कफी बोर्ड केन्द्रीय कार्यालयका निमित्त कार्यकारी प्रमुख दीपक खनालले नेपालमा कफीको निकै राम्रो सम्भावना भए पनि यो क्षेत्र व्यापकरूपमा विस्तार हुन नसकेको बताए ।

कफीमा आत्मनिर्र्भर भएर विदेश निर्यात गर्नसक्ने सम्भावना प्रशस्त भए पनि यस क्षेत्रप्रति सरोकारवालाको चासो बढ्न नसकेको उनको भनाइ थियो । कफीको व्यावसायिकता र कफीका लागि दक्ष जनशक्ति उत्पादन गर्न एकेडेमीले भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा जिल्ला कफी व्यवसायी सङ्घका अध्यक्ष एवं कफी कृषक विश्वबन्धु पोखरेलले पछिल्लो समय कफीप्रति धेरै किसानको रुचि बढ्दै गएको भन्दै व्यावसायिकतातर्फ उन्मुख भएको धारणा राखे । उनले सम्भावना प्रशस्त भएकाले युवालाई समेत कफी कृषितिर आकर्षण गर्नुपर्ने बताए ।

एकेडेमीका सञ्चालक एवं कफी व्यवसायी महासङ्घका केन्द्रीय सदस्य सरोज श्रेष्ठले समयको मागअनुसार अन्तर्राष्ट्रिय मान्यताप्राप्त गुणस्तर सेवा प्रदान गर्ने र कृषि पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले एकेडेमी सञ्चालनमा ल्याएको जानकारी दिए ।

कफी विज्ञ एवं प्राविधिक सल्लाहकार भोलाकुमार श्रेष्ठले नेपालमा उत्पादित कफी अन्तर्राष्ट्रियरूपमा उच्चस्तरको पाइए पनि नेपालमा कफी उत्पादन बढ्न नसकेको बताए । उनले भने, “माग बढी छ तर उत्पादन बढ्न सकेको छैन । हामीले उत्पादन वृद्धि गरेर गुणस्तर कायम गर्न सक्यौँ भने कफीबाटै आत्मनिर्भर बन्छौँ ।”

कार्यक्रममा कफी व्यवसायी महासङ्घका संस्थापक अध्यक्ष ढकेश्वर घिमिरे नेपालमा पछिल्लो समय कफी संस्कृतिको विकास हुँदै गएको बताए । अन्तर्राष्ट्रिय परीक्षणले नेपालको कफी विश्व बजारमा समेत उच्चस्तरको मानिएसँगै नेपाली कफीको माग दिन प्रतिदिन बढेको उनको भनाइ थियो ।

कफी विज्ञ टोड आर्नेटले नेपाल कफीको उर्वर भूमि भएको बताए । सरोकारवालासँग सहकार्य र समन्वयबाट कफी उत्पादन बढाउन सके छिट्टै कफी आयात घट्ने सक्ने उहाँको विश्वास थियो । पछिल्लो तथ्याङ्कअनुसार नेपाली बजारमा वार्षिक एक हजार २६१ मेट्रिक टन कफी आयात भएको छ भने उत्पादन ५१३ मेट्रिक टन मात्रै छ । निर्यात भने झण्डै १०० मेट्रिक टन मात्रै रहेको देखिन्छ ।

महासङ्घका सचिव एवं एकेडेमीका अध्यक्ष सन्तोष पोखरेलले नेपाली बजारमा कफीको माग बढ्दै गएकाले यसलाई व्यावसायिकरूपबाट गति दिन एकेडेमी सञ्चालनमा ल्याएको जानकारी दिए । उनले नेपालमा कफी संस्कृतिको विकास भएकाले अब कफीको जैविक स्वादलाई सहजरूपमा बिकाउन सकिने धारणा राखे ।

उनले भने, “हामी अन्तर्राष्ट्रिय जगत्भन्दा पहिला आफ्नै देशमा कफीको स्वादलाई बिकाउन चाहन्छौं। नेपालमा जुन मात्रामा कफी आयात भएको छ, यसलाई विस्थापन गर्न जैविक कफीको उत्पादन बढाएर जानुपर्छ ।” अमेरिकाको विलियम्सबर्ग एकेडेमीसँगको सम्बन्धन र सहकार्यमा एकेडेमी सञ्चालनमा आएको उनले बताए ।

उनले कफीको मूल्य शृङ्खलाअनुरूप विभिन्न चरणमा आवश्यक पर्ने नर्सरी, बोटबिरुवा, बगैँचा व्यवस्थापन, उत्पादन, प्रशोधन, बजारीकरण र गुणस्तर प्रमाणीकरण जस्ता कार्यमा आवश्यक पर्ने कार्यलाई सहज र सुलभ ढङ्गले व्यवस्थापन गर्दै तालिम एवं परामर्श एकेडेमीबाट हुने जानकारी दिए ।