राजनीति

राष्ट्रियसभाको निर्वाचन माघ ९ गते, यसपटक क-कसको कार्यकाल सकिँदैछ ?

काठमाडौं । सरकारले राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गरेको छ । आज(बिहिबार) राजधानीमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित सम्मेलनमा  सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कुटाले माघ ९ गते निर्वाचन गर्ने निर्णय गरेको बताएका हुन् ।

राष्ट्रियसभाका नेकपाका ८,  कांग्रेसका ७, राजपाका २, समाजवादीका एक र सरकारबाट मनोनित एकजना  गरी १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ मा सकिँदैछ । संविधानअनुसार सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन भइसक्नुपर्छ । सोहीअनुसार सरकारले माघ ९ गते चुनाव घोषणा गरेको हो ।

यसपटक कांग्रेसबाट राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईंसहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रपसाद उपाध्याय र धनकुमारी खतिवडाको कार्यकाल सकिँदैछ ।

त्यस्तै नेकपाबाट हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपालीको कार्यकाल सकिँदैछ ।

राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको पनि २ वर्षको कार्यकाल सकिँदैछ । यस्तै, सरकारबाट मनोनित भएका अर्थमन्त्री युवराज खतिवडाको पनि कार्यकाल पूरा हुँदैछ ।

यो निर्वाचनमा पहिले हुने निर्वाचन हुने प्रणालीबाटै उम्मेदवारको चयन हुनेछन् । यो निर्वाचन प्रत्येक प्रदेशमै हुनेछन् भने र तत् प्रदेशबाट राष्ट्रियसभा सदस्यको चयन हुनेछ । राष्ट्रियसभाको आगामी निर्वाचनबाट महिला सात, दलित दुई, अल्पसङ्ख्यक दुई र अन्य सात जना निर्वाचित हुनेछन् ।