पु.समाचार

स्कुले विद्यार्थी प्रकृतिलाई ट्रकले ठक्करपछि देखिएको सुरक्षा बहस

बाँके । गएको आइतबार बालिका प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि दुई दिन कोहलपुर बजार तनावपूूर्ण बन्यो । घाइते बालिकाको काठमाडौँमा उपचार भइरहेको छ । कोहलपुरका स्थानीयवासीले उक्त दिनलाई कालो दिन भनिरहेका छन् । दुर्घटनाको आलो घाउ निको हुन अझै समय लाग्ने छ ।

विद्यालय जान हिँडेकी बालिका प्रकृतिलाई ट्रकले ठक्कर दिएपछि दुई दिनपछि सामान्य बनेको कोहलपुरमा अहिले सडक सुरक्षाका विषयमा बहस हुन थालेको छ । उक्त घटना राष्ट्रिय मुद्दाकै रुपमा स्थापित भएसँगै सडक सुरक्षाका विषयमा चासो, चिन्ता र बहस शुरु भएको हो । यस्ता चासो र चिन्ताका बीचमा कोहलपुरमा दृष्यावलोकन केन्द्र बनाउने कि आकाशे पुल रु भन्नेजस्ता बहस सतहमा देखिएका छन् ।

कोहलपुर नगरपालिकाले ठूलो धनराशि खर्चेर शहरकै मुख्य ठाउँमा दृष्यावलोकन केन्द्र बनाउने योजना अघि सारेको छ । आइतबारको घटनापछि कोहलपुरवासीले उक्त योजनामा सरकारी पैसा खर्चिनुभन्दा सडक सुरक्षाजस्ता प्रभावकारी काम गर्न सुझाव दिएका छन् । गत आइतबारको घटनापछि कोहलपुरमा थप दुई वटा दुर्घटना भएका छन् । शहरमा जनघनत्व बढेसँगै सडक सुरक्षा चुनौती बनिरहँदा आकाशे पुलको योजना अर्थहीन भएको कोहलपुरवासीको भनाइ छ ।

कोहलपुरका स्थानीय एवं होटल व्यवसायी देवानन्द अर्याल भन्छन्, “कोहलपुर नगरपालिकाले जनताले तिरेको करबाट अनावश्यक रु ११ करोड खर्च गरेर न्यूरोड गोलपार्कमा दृष्यावलोकन केन्द्र बनाउनुभन्दा दिनहुँजसो दुर्घटना हुने न्यूरोड चोक, एनटिभी रोड चोक, धिताल पम्प, साझा चोक, विद्युत् चोक र त्रिभुवन माध्यमिक विद्यालय अगाडि पैदलयात्रुका लागि आकाशे पुल बनाउन जरुरी छ । यसमा सम्बन्धित निकायको ध्यान जाओस् ।” कोहलपुरका स्थानीयवासी एवं साहित्यकार शङ्कर अशान्त पनि अर्यालको सुझावप्रति सहमत हुँदै भन्छन्, “एउटै जोकले बारबार हसाउन सकिन्न ! भ्यूटावरको थोरबहुत प्यास रोहिणीमै मेट्न सकिन्छ । बिना अर्थको भ्यूटावरको अहिले आवश्यकता छैन । त्यही बुटवलमा २०० मिटरको फरकमा बनेका आकाशे पुलले दिएको रौनक र सवारी सुरक्षा निकै प्रभावकारी देखिएको छ । अझै बिग्रेको छैन, नगरपालिकाले ध्यान देओस् ।”

स्थानीय भेषराज पौडेलले भ्यूटावरजस्ता काम विकासको मानक हुन भन्ने सोचाइ कहिले अन्त्य होला भन्दै प्रश्न गर्छन् । पौडेल भन्छन्, “भ्यूटावरलाई नै विकास भनेर किन अथ्र्याइन्छ कुन्नी ? भ्यूटावरका उत्पादन के के हुन्, कुन कुन विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्ने हो ? अहिलेको आवश्यकता के हो ? भ्यूटावर नै विकासको आधार हुन सक्दैन ।” उनले आवश्यकता पहिचान गरेर विकासका योजना ल्याउन स्थानीय तहसँग आग्रह गरे ।

कोहलपुरका स्थानीय चन्डी गैरैले भ्यूटावरका विषयमा आफूले सार्वजनिक सुनुवाइमै कुरा उठाएको बताए । “अहिले हामीलाई भ्यूटावर चाहिएकै छैन । आवश्यकता र मागका आधारमा स्थानीय सरकारले योजना बनाउने हो । हचुवाका भरमा बनाइएका योजनाले दीर्घकालिन लाभ दिन सक्दैनन् । अब भ्यूटावर होइन कोहलपुरका मुख्य सडक चोकमा आकाशे पुल बनाउन नगरपालिकाले ध्यान दिनुपर्छ ।”

कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले सडक सुरक्षाका विषयमा नगरपालिकाले छलफल चलाउने बताए । उनले भने, “सडक सुरक्षा चुनौतीपूर्ण देखियो । स्थानीय सरकार सुडक सुरक्षाका विषयमा गम्भीर पनि छ । यस विषयमा हामी सबै सरोकारवालासँग छलफल गरेर आगामी योजना तयार गछौं । सबैसँगको छलफलका आधारमा नगरपालिकाले ठोस कार्ययोजना बनाउँछ ।”

नेपालगञ्ज र कोहलपुरमा बढ्दो जनघनत्वका कारण पैदलयात्रुलाई सडक वारपार गर्न निकै सास्ती खेप्नुपर्छ । सवारी ।साधनले व्यस्त चोकमा पैदलयात्रुको चाप पनि उतिकै हुन्छ । ट्राफिकले दुवैतिरका सवारी नरोकेसम्म कुरिरहनुपर्ने बाध्यता पैदलयात्रुले झेल्दै आएका छन् । कोहलपुर नगरपालिका–६ कि प्रतीक्षा केसीले कोहलपुर बजारका चोकमा सरासर बाटो काट्न समस्या हुने गरेको सुनाउछन् ।

उनी भन्छन्, “बाटो काट्न कम्तीमा पाँच मिनेट पर्खिनैपर्छ । ढिलो भएको बेलामा उभिएर कतिबेला गाडी रोकिएला भनि पर्खनुपर्छ ।” यो समस्या केसीको मात्रै होइन कोहलपुर र नेपालगञ्जका चोक भएर आवतजावत गर्ने धेरै पैदलयात्रुको साझा समस्या हो । “अन्यत्रका शहरमा जस्तो आकाशे पुल भएको भए समयमै सुरक्षितरुपमा भनेको ठाउँमा पुगिने र समय पनि बचत हुन्थ्यो”, केसी भन्छन् ।

आकाशे पुल नहुँदा सरासर बाटो काट्न मुस्किल पर्ने र पर्खिएर बस्नुपर्दा कतिपय कामहरु छुट्ने गरेको उनको गुनासो छ । कोहलपुर र नेपालगञ्जका मुख्य सडकका धेरै स्थानमा आकाशे पुल बनाउनै पर्ने आवश्यकता रहेको पैदलयात्रुको भनाइ छ । नेपालगञ्ज उपमहानगरपालिकाले समेत आकाशे पुल बनाउने योजना अघि सारेको छ । कोहलपुरमा पनि बढ्दो शहरीकरण र सवारी चापका कारण सडक सुरक्षाका लागि आकाशे पुल आवश्यकता महसुस गरिएको छ ।