लुम्बिनी

जनप्रतिनिधिको सक्रियताः घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ ले सामाजिक सुरक्षा भत्ता घरमा नै वितरण गरेको छ । बैंकमा पुगेर रकम झिक्न अतिअशक्त, ज्येष्ठ नागरिक, शारीरिक अपाङ्गता, अस्वस्थ भएकालाई असहज भएपछि बैंकका कर्मचारीलाई बोलाएर घरमै सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।

“उहाँहरु बैंकमा आएर भत्ता लैजान सक्ने अवस्थामा हुनुहुँदैन, त्यसैले हामीले घरमै गएर भत्ता वितरण गर्न थालेका हौँ”, वडाध्यक्ष नवराज लामिछानेले भने, “यसले उहाँहरुलाई सहज भएको छ ।

”अध्यक्ष लामिछानेका अनुसार शारीरिक अपाङ्गता भएकी डुम्रिगाउँका सुष्मा श्रेष्ठ, रजौराका ९१ वर्षीया खगेश्वरी रजौरे, गोलौराका ९६ वर्षीया छविलाल रेग्मी र गाइडहरका ८१ वर्षीया पिपादेवी केसीलाई घरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरिएको छ । अन्य असक्तलाई पनि घरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरिनेसमेत उनले बताए ।

पहिलो चौमासिकअन्तर्गत ज्येष्ठ नागरिकलाई रु तीन हजारका दरले रु १२ हजार र शारीरिक अपाङ्गता भएका व्यक्तिलाई रु दुई हजारका दरले रु आठ हजार वितरण गरिएको हो । उक्त वडामा कृषि विकास बैंक तुलसीपुर शाखाले सामाजिक सुरक्षाभत्ता वितरण गर्दै आएको छ ।