समाचार

मेघौली विमानस्थल सञ्चालनमा चासो

रत्नननगर, २५ मङ्सिर । १२ वर्षअगाडि बन्द भएको मेघौली विमानस्थल चलाउन सरोकारवालाको चासो देखाएका छन् । भरतपुरबाट २५ किलोमिटर पश्चिममा रहेको मेघौली विमानस्थल साना जहाजहरु अवतरण गर्न सकिने भए पनि यसलाई विकल्पका रुपमा पनि सञ्चालनमा ल्याउन सकिएको छैन ।

भरतपुर विमानस्थलको धावनमार्ग मर्मत गर्न १० दिनभन्दा बढी भरतपुरबाट कुनै पनि उडान भएनन् । यहाँबाट दैनिक १२ भन्दा बढी उडान हुँदै आएको थियो । मेघौली विमानस्थलमा कालोपत्र धावनमार्ग नहुनु मुख्य समस्याका रुपमा देखिएको छ । प्रदेश सांसद कृष्ण भुर्तेलले भरतपुर विमानस्थलमा बन्द हुँदा यहाँ जहाज ल्याएरे बानी पार्नुपर्ने बताए । यसमा सबैभन्दा पहिला विमान कम्पनी सकारात्मक हुनुपर्ने उनको भनाइ छ ।

धावन मार्ग कालोपत्र गर्न सकेको भए जहाज ल्याउन सकिने थियो भुर्तेलले भने, “हामीले यो विषयमा धेरै पटक बहस छलफल ग¥यो तर बहसमा मात्रै भयो, चलाउन सकिएन ।” भरतपुर विमानस्थलको धावनमार्ग भन्दा मेघौलीको २०० मिटर लम्बाइ कम छ । भरतपुर विमानस्थलका प्रमुख पवन गौतमले भने, “मेघौलीको विमानस्थलमा घाँसेमैदान भएकाले साना जहाजमात्र अवतरण हुन्छ, ठूलालाई लम्बाइ पुग्दैन ।” मेघौली विमानस्थलको लम्बाइ एक हजार मिटर छ ।

बाह्र वर्षअगाडि टाइगर टप्स रिसोर्ट सञ्चालनमा हुँदा यस विमानस्थलमा जहाज आउने गरेको थियो । २०७२ सालको वैशाख १ गते चौधरी गु्रपले सानो जहाज चार्टर गरेर ल्याएको थियो । त्यसपछि पनि चार्टर गरेर थोरै सङ्ख्यामा यहाँ जहाज आएको छ तर नियमित रुपमा यहाँ जहाज चल्न सकेको छैन ।

पर्यटन वर्ष २०२० आउँदै गर्दा जिल्लामै रहेको विमानस्थल सञ्चालन हुन नसक्नु दुःखको कुरा भएको पर्यटनकर्मीले बताएका छन् । चितवन पर्यटन विकास समितिका महासचिव विश्व सुवेदीले धावन मार्गको घाँस काटेर सफा बनाइयो तर कुनै जहाज कम्पनीले इच्छा देखाएनन् ।

सरकारले नयाँ पर्यटकीय गन्तव्यका रुपमा मेघौलीलाई लिएको छ तर यहाँको विमानस्थल सञ्चालन गर्न सकिएन उनले भने । मेघौली क्षेत्रमा स्टार तहका होटलहरु चारवटा रहेका छन् । निकुञ्जको जगल सफारी, नारायणी राप्ती नदीको सङ्गमस्थलबाट सूर्यास्त देख्न सकिन्छ । यहीँबाट एकसिङ्गे गैँडा, पाटेबाघ, जङ्गली जनावर सजिलै देख्न सकिन्छ ।

‘जिल्लाको अन्य स्थानमा भन्दा यहाँ जङ्गली जनावर सजिलै हेर्न सकिन्छ होटलहरु पनि छन् तर यहाँको महत्व बुझ्न सकेनन्”, सुवेदीले भने । उनले भरतपुर विमानस्थल मर्मतका लागि १० दिन बन्द हुँदा यहाँबाट जहाज सञ्चालन गर्न सकेको भए यहाँको प्रचार अझै बढेर जाने बताए । बुद्ध एयरका भरतपुर स्टेशन म्यानेजर भक्तबहादुर बस्नेतले जोखिम मोलेर घाँसेमैदानमा जहाज अवतरण गराउन नकिने बताए ।