समाचार

मालढुङ्गा–बलेवा सडक हस्तान्तरणको चरणमा

गलकोट, २५ मङ्सिर । राष्ट्रिय गौरवको आयोजनामध्येको कालीगण्डकी कोरिडोरको बागलुङ–गुल्मी खण्डको नौ किमी सडक हस्तान्तरण गर्ने चरणमा पुगेको छ । करिडोरअन्तर्गतको मालढुङ्गादेखि बलेवा विमानस्थलसम्मको सडक निर्माण र १० मिटर चौडा गर्ने कार्य सकिएसँगै सडक विभागलाई हस्तान्तरण गर्ने तयारी अन्तिम चरणमा रहेको छ ।

नेपाली सेनाले निर्माण जिम्मा लिएको ८० किमी करिडोरको ट्र्याक खुलाएपछि अहिले १० मिटर सडक चौडा गर्ने जारी छ । यसमध्येको मालढुङ्गादेखि बलेवा विमानस्थलसम्मको सडक कालोपत्रका लागि आगामी पुस १ गते सडक विभागलाई हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको नेपाली सेनाको करिडोर निर्माण कार्यदलका प्रमुख रेश्मीराज भट्टराईले जानकारी दिए ।

सडक हस्तान्तरण पूर्व मालढुङ्गा बलेवा खण्डसहित करिडोरको निर्माण अवस्थाबारे बागलुङका सङ्घीय सांसद तथा सार्वजनिक लेखा समितिका सदस्यसमेत रहेका सूर्य पाठकसहित पत्रकारलाई स्थलगत अनुगमनसमेत गराइएको छ । अनुगमनपछि सांसद पाठकले नेपाली सेनाको काम सन्तोषजनक रहेको बताए । करिडोरमा कार्यरत मजदूर र सेनाको सुरक्षाका विषयमा दिइएको सुझाव पनि तत्काल कार्यान्वयन गरेर काम अघि बढाएको पाइएको उनको भनाइ थियो ।

यसअघि गुल्मी रिडीबाट रुद्रवेणीसम्मको सात किमी नेपाली सेनाले सडक विभागलाई सडक कालोपत्रका लागि जिम्मा दिइसकेको छ । सडक विभागलाई हस्तान्तरण गरिएको पाँच महिनाभन्दा बढी समय बितिसक्दासमेत काम अघि बढेको छैन ।

कालीगण्डकी करिडोर त्रिदेशीय सडक हो । यसले छिमेकी भारत र चीनलाई जोड्नेछ । बागलुङ गुल्मी सडकको ८० किमी खण्ड आगामी असारभित्रै १० मिटर चौडा बनाउने गरी काम अघि बढाइएको छ ।

सरकारले यस करिडोरलाई राष्ट्रिय गौरवको योजनाका रुपमा प्राथमिकतामा राखेको छ । चालू आर्थिक वर्षमा सडक विस्तारका लागि २५ करोड बजेट विनियोजन गरिएको छ । यसबाट ५१ किमीको सेरोफेरोमा कडा चट्टान काट्नुपर्ने चुनौती छ । यसका लागि अहिले विनियोजित बजेटले नपुग्ने निर्माण कार्यदल प्रमुख भट्टराई बताए ।

“चट्टान काटेर १० किमी सडक चौडा गराउँदा थप १५ करोड बजेट अनावश्यक हुन्छ”, उनले भने, “बजेटको कमी नभएको खण्डमा आगामी असारअघि नै काम सक्ने तयारी छ ।” अहिले कडा चट्टान फुटाउन बारुदको अभाव भएको छ । केन्द्रीय मुख्यालयमा माग गरिए पनि बारुद नआउँदा एक हजार ८०० बढी बम पड्काउनका लागि होल तयार गरेर राखिएको छ ।

दर्जनौँ स्थानमा बम पड्काएर मात्र सडक चौडा पार्न सकिने भएकाले सेनाले क्याम्प राखेर काम गरिरहेको छ । सुरक्षा दिने र नियमित सवारी चलाउने दुवै चुनौती सेनाले जिम्मा लिएको छ । हाल यो सडकको मालढुङ्गादेखि पालुङखोलासम्म बस र ट्रकसमेत चल्न थालेका छन् ।

सडकको कतिपय स्थानमा बमसमेत पड्काउनुपर्ने भएकाले सरकारले यो खण्डको काम सेनालाई दिएको थियो । गण्डकी प्रदेशको भारत सिमाना त्रिवेणीधामदेखि चीनको सिमाना कोरला नाकासम्म कोरिडोर ४१७ किमीको हुनेछ । सबै खण्डमा ट्र्याक खुलिसकेको छ ।

मालढुङ्गादेखि गुल्मीको रिडीसम्मको खण्डमा सेनाले २०७० देखि काम गरिरहेको छ । २०७० को असारमा शिलान्यास गरेपछि सेनाले ८० किमी ट्र्याक खोलेको थियो । सबै सडक खण्डको ट्र्याक खुलेपछि चौडा पार्ने काम पनि सेनाकै जिम्मामा दिइएको छ । अत्यधिक पहरो र कडा चट्टान भएकाले सरकारले सेनालाई काम गर्ने जिम्मा दिएको थियो । यस खण्ड चौडा पारेर हस्तान्तरण भए लगत्तै सडक विभागले कालोपत्रका लागि काम गर्नेछ ।