अन्तर्राष्ट्रिय

मोगादिसुमा होटेलमा आक्रमण, पाँचको मृत्यु

एजेन्सी । सोमालियाको राजधानीमा रहेको एक होटलमा भएको जिहादी आक्रमणमा पाँच व्यक्तिको मृत्यु भएको छ । तीन सर्वसाधारणसहित पाँच व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ । लामो समयसम्म होटेलमा गरिएको कब्जापछि पाँँच आक्रमणकारी पनि मारिएका  स्रोतले  जानकारी दिएको छ ।

मङ्गलबार साँझको समयमा भएको यस आक्रमणको इस्लामिक समूह ‘अल शबाब’ले जिम्मा लिएको छ । राजधानी मोगादिसुमा अवस्थित सो होटल राजनीतिज्ञ, उच्चस्तरीय सैनिक अधिकारी र कुटनीतिज्ञहरु भेला हुने प्रख्यात स्थलको रुपमा रहेको बताइन्छ । ‘हाम्रा बहादुर सुरक्षा अधिकारीहरुले ‘एसवाइएल’ होटलमा भएको यस आतङ्ककारी आक्रमणलाई अन्त्य गरे, यस अवस्थामा सरकारी अधिकारी र पाहुनालगयात ८० भन्दा बढी व्यक्ति होटेलमा रहनु भएको थियो ’ प्रहरीद्वारा जारी एक विज्ञप्तिमा बताइएको छ ।

यस आक्रमणमा परी तीन सर्वसाधारण र दुई सुरक्षा अधिकारी मारिएको पुष्टि भएको छ । त्यसगरी नौ सर्वसाधारण र दुई सैनिक सामान्य घाइते भएका छन् । आक्रमणकारीहरूले प्रहरीको पोशाक लगाएर होटेलमा आएकाले उनीहरुलाई कुनै अनुसन्धान बिना नै होटेलमा प्रवेश गर्न दिइएको प्रत्यक्षदर्शीले एएफपी समाचार समितिलाई बताएको छ ।

आक्रमणकारीहरुले बन्दुक र ग्रेनेडलगायतका हतियारले आक्रमण गरेका थिए । यसअघि यसै होटल र नजिकैको स्थानमा भएका तीन भीषण आतङ्ककारी आक्रमणको पनि अल शबाव समूहले नै जिम्मा लिएको थियो । टर्कीका राष्ट्रपति रेसेप तयिप एर्डोगानको भ्रमणको पूर्वसन्ध्यामा जनवरी २०१५ मा यसै होटलमा भएको एउटा आत्मघाती कारबम विस्फोटमा परी पाँच व्यक्तिको मृत्यु भएको थियो ।

फेबु्रअरी २०१६ मा एसवाइएल होटलनजिकै पीस गार्डेनको छिमेकमा पर्ने स्गामामा भएको दुईवटा विस्फोटमा परी १६ व्यक्तिको ज्यान गएको थियो । सन् २०१६ को नै अगस्टमा यसै होटेलमा भएको आत्मघाती कारबम आक्रमणमा परी १५ व्यक्तिको ज्यान गएको थियो ।