पु.समाचार

हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

कञ्चनपुरमा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन् । महाकाली नगरपालिका–२ की ३८ वर्षीया वसन्ती भट्ट र ४० वर्षीया भुलीदेवी बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।

हात्तीको आक्रमणबाट सुनिता विष्ट, सरिता ओझा, ललिता बोहरा र उमा साउद घाइते भएका छन् । घाइतेमध्ये विष्ट र ओझाकाे अवस्था गम्भीर रहेको प्रहरी उपरीक्षक आचार्यले बताए । घाइतेहरूको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

बिहान साढे ६ बजेतिर महाकाली नगरपालिका–२ स्थित मायापुरी सामुदायिक वनमा घाँस काट्न गएका उनीहरूलाई जंगली हात्तीको बथानले आक्रमण गरेको थियो ।

आक्रमणबाट घाइते भएकाहरू चिच्याएपछि स्थानीय र प्रहरीले हात्तीलाई लखेटेका थिए । उक्त जंगलक्षेत्रमा हात्ती धपाउन सुरक्षाकर्मी परिचालन गरिएको छ । हरेक वर्ष यस क्षेत्रमा जगंली हात्तीले आतंक मच्चाउने गरेको छ ।