कृषि

विशेष कार्यक्रममार्फत बाख्रापालनलाई प्रवद्र्धन गरिँदै

हेटौंडा । प्रदेश नं ३ सरकारले उन्नत जातका बाख्रापालनलाई प्रवद्र्धन गर्न विशेष कार्यक्रम ल्याउने भएको छ । कृषक समूह, सहकारी र निजी क्षेत्रसँगको साझेदारीमा व्यवसायिक बाख्रापालन प्रवद्र्धन गर्न कार्यक्रम ल्याउन लागिएको प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

“उन्नत जातका बाख्राको अध्ययन, अनुसन्धान गरी उत्पादन बढाएर किसानलाई राम्रो आम्दानी दिन विशेष कार्यक्रम शुरुआत गर्न लागिएको हो ।” प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले भने ।

उनका अनुसार मकवानपुर, चितवन, धादिङ, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा केही पालिकामा सो कार्यक्रम सञ्चालनमा आउनेछ । मकवानपुरको इन्द्रसरोवर र भीमफेदी गाउँपालिका, चितवनको राप्ति नगरपालिका, रामेछापको खाँडादेवी गाउँपालिका, सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका र धादिङको बेनीघाट—रोराङ्ग गाउँपालिकामा कार्यक्रम कार्यान्वन हुने छ ।

मन्त्री लामाले बाख्रापालन फार्मलाई रु ५० लाखसम्म अनुदान रकम दिइने र यसका लागि सूचनासमेत प्रकाशित भइसकेको वताए । “यो कार्यक्रममा मुख्य लक्ष्य भनेको उन्नत जातका बाख्रा भित्र्याउनु नै हो”, उनले भने ।