आर्थिक

बन्दै गरेको रङ्गशाला हेर्न आउनेको घुइँचो

चितवन । रामपुरमा निर्माण थालिएको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला हेर्न आउनेको घुइँचो लाग्न थालेको छ । सोमबार मात्र रु २० को टिकट काटेर दुई हजार ५०० ले निर्माणाधीन रङ्गशाला अवलोकन गरेका छन् ।

विभिन्न जिल्लाबाट भ्रमणका लागि आएका र यस जिल्ला हुँदै अन्यत्र जिल्ला जाने विद्यालयका विद्यार्थीदेखि सहकारी, आमा समूह, टोल विकास समितिलगायतका सङ्घसंस्थाका भ्रमण टोलीको प्रमुख गन्तव्य रङ्गशाला बन्ने गरेको छ । धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीतारम कट्टेलले सोमबार भ्रमण गर्न आएको एक समूहले रङ्गशाला निर्माणका लागि रु ६० हजार सहयोगसमेत गरेको बताए ।

राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा चासोका रूपमा रहेको रङ्गशाला कसरी बन्दैछ, धेरैलाई चासो भएकाले प्रवेश शुल्क राखेर देखाउन थालिएको हो । दश दिनअघिदेखि प्रवेशको व्यवस्था मिलाइएपछि दैनिक सङ्ख्या बढ्दै गएको कट्टेलले बताएका छन् ।

कैलाली, कञ्चनपुर, अर्घखाँची, झापा, दाङ, बागलुङलगायतका जिल्लाबाट रङ्गशाला हेर्ने आएका उनले जानकारी दिए । निर्माण हुँदै गरेको रङ्गशालाको अवलोकन र तस्वीर खिच्नेको भीड लागेको छ । अहिले रङ्गशालाको निर्माणको काम तीव्रगतिमा अघि बढेको छ । भुइँमा माटो भर्ने काम सम्पन्न गरी रोलरले पेल्ने कामसमेत भइसकेको छ ।

पाँगो माटो व्यवस्थापन गर्ने काम भइरहेको भन्दै उहाँले मैदानको कालोपत्रका लागि ढुङ्गा बिछ्याउने काम भइरहेको जानकारी दिएका छन् । एक फिट मोटो ढलान गर्नुपर्ने भएकाले १४१ कामदार खटिएको उनले बताए । रङ्गशालामा नमूना खेलमैदान निर्माण गरी दुई मैत्रीपूर्ण खेलसमेत सम्पन्न भएका छन् ।

रङ्गशला सम्पन्न हुँदै गर्दा सो ठाउँ पार्किङ हुनेछ । रङ्गशालामा देशका ७७ जिल्लाको अपनत्व हुने गरी नक्साङ्कन गरिएको छ । रङ्गशालाका विभिन्न कक्षलाई जिल्लाबाट नामाकरण गरिएको उनले बताए । निर्माणको काम तीव्र भए पनि आर्थिक सङ्कलन भने खासै हुनसकेको छैन ।

रु आठ करोड हाराहारी बोलकबुल भएकामा रु एक करोड मात्र सङ्कलन भएको भन्दै कट्टेलले हालसम्म विभिन्न क्षेत्रबाट बोलकबुलबाहेक रु तीन करोड सङ्कलन भएको बताए । रङ्गशाला सम्पन्न गर्न रु दुई अर्ब ५० करोड खर्च हुने अनुमान छ । यद्यपि श्रमदान र अन्य सामग्रीको सहयोग भएमा त्यति खर्च नलाग्ने उनले जानकारी दिए ।