कृषि

सामाजिक संजालका कारण लैङ्गिक हिंसा बढ्यो- मन्त्री घिमिरे

सुनसरी । सामाजिक विकास मन्त्री जीवन घिमिरेले सामाजिक संजालका कारण लैङ्गिक हिंसाका घटना बढेको बताएका छन् । लैङ्गिक हिंसा विरुद्धको इटहरी सम्मेलनलाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

मादक पदार्थ हिंसाको अर्को कारण रहेको मन्त्री घिमिरेले औल्याए। उनले देशमै प्रदेश नम्वर १ मा सबैभन्दा बढि मदिरा सेवन गर्ने गरेको तथ्यांक रहेको सुनाए । मन्त्री घिमिरेले हिंसा विरुद्धको अभियानलाई गाँउवस्तीसम्म पूर्याएकोमा इटहरी उपमहानगरको प्रशंसा समेत गरे ।

लैङ्गिक हिंसा विरुद्धको अभियानमा पुरुष सहभागिता वढाउनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा बोल्दै संविधानसभाका सांसद रेवती रमण भण्डारीले महिला हिंसाविरुद्ध अन्य देशमा नभएका प्रावधान समेत नेपालको संविधानमा रहेको बताए । कानुनी दायरा फराकिलो बनाइएका कारण घटना सार्वजनिक हुने क्रम बढेको पनि बताए ।

प्रदेश सांसद लिलम वस्नेतले इटहरी लैगिंक हिंसामुक्त क्षेत्र वन्ने गरि परिणामुखी कार्यक्रम संचालन गरिनुपर्नेमा जोड दिए। इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरीले लैङ्गिक हिंसा न्यूनिकरणका लागि उपमहानगरले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले इटहरीमा लैङ्गिक हिंसाको अवस्थाका वारेमा प्रतिवेदन प्रस्तुत गरे । सबै वडाका १९ सय २२ जना सँग सर्वेक्षण गरेर न्यायिक समिति, प्रहरी र अन्य श्रोतहरुलाई आधार मानेर प्रतिवेदन तयार गरिएको उपप्रमुख गौतमले बताए ।

लैङ्गिक हिंसा विरुद्धको इटहरी सम्मेलनमा इटहरीको सवै वडाका गरि तीनसय जना बढि सहभागि छन । सहभागिहरु सात वटा समूह वनाएर छलफल गरि एक वर्षे कार्ययोजना तयार गरिने छ ।