खेलकुद

पुरुष फुटबलमा नेपालले ल्यायो स्वर्ण, नेपाल लगातार दोस्रोपटक च्याम्पियन

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल लगातार दोस्रोपटक च्याम्पियन बनेको छ । मंगलबार त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले भुटानलाई २–१ गोल अन्तरले हराउँदै फाइनल जितेको हो । नेपाल फुटबलमा सन् १९८४, १९९३, २०१६ र सन् २०१९ गरी चारपटक च्याम्पियन बनेको छ । 

नेपालका लागि खेलको १६औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै नेपाललाई अग्रता दिलाए । खेलको ३७औं मिनेटमा भुटानका लागि छेटु ग्याल्जेनले गोल फर्काएर खेललाई  एक–एक गोलको बराबरीमा ल्याएका थिए। खेलको ५४ औं मिनेटमा नेपालका लागि सुनिल बलले गोल गरे ।  बलले उत्कृष्ट हेड गोल गर्दै गोलसंख्या दोब्बर बनाएका थिए ।

सन् १९९३ मा नेपालले साग फुटबलमा पहिलो पटक स्वर्ण पदक जितेको थियो । त्यो बेला टिमका खेलाडी रहेका बालगोपाल महर्जन अहिले प्रशिक्षक छन् । यसअघि भारतमा भएको १२औंमा पनि नेपालले फुटबलतर्फको स्वर्ण पदक जितेको थियो । अघिल्लो संस्करणमा भारतलाई हराउँदै नेपालले स्वर्ण जितेको थियो । 

यो संस्करणमा भारत र पाकिस्तानले फुटबलमा भाग लिएनन् । अहिलेसम्म नेपाल पाँच पटक फाइनलमा पुगेको छ । भुटान भने सागको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको हो ।

यसअघि  नेपालले भुटानलाई ४-० गोलले पराजित गरेको थियो । भुटानले जारी सागमा बंगलादेशलाई १–० ले, माल्दिभ्सलाई २–१ र श्रीलंकालाई ३–१ ले हराएर फाइनलमा आइपुगेको थियो ।

फुटबलको यो फाइनलसँगै यो संस्करणको सागका सबै खेल सकिएका छन् । अर्को साग पाकिस्तानमा हुने तय भएको छ ।