खेलकुद

स्वर्णका लागि भइरहेको खेलमा भुटानले नेपालविरुद्ध बारबार गोल फर्कायो

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलको स्वर्ण पदकका लागि भइरहेको खेलमा नेपाल र भुटान खेलिरहेका छन् । १६ औं मिनेटमा नेपालद्वारा गोल खाएको भुटानले पहिलो हाफमा बराबर गोल फर्काएको छ । भुटानक लागि  चेन्चो ग्याल्सेनले गोल गरेका हुन् ।

दशरथ रंगशालामा जारी खेलमा नेपालका लागि खेलको १६औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

सन् १९९३ मा नेपालले साग फुटबलमा पहिलो पटक स्वर्ण पदक जितेको थियो । त्यो बेला टिमका खेलाडी रहेका बालगोपाल महर्जन अहिले प्रशिक्षक छन् । यसअघि भारतमा भएको १२औंमा पनि नेपालले फुटबलतर्फको स्वर्ण पदक जितेको थियो । अघिल्लो संस्करणमा भारतलाई हराउँदै नेपालले स्वर्ण जितेको थियो । 

यो संस्करणमा भारत र पाकिस्तानले फुटबलमा भाग लिएनन् । अहिलेसम्म नेपाल पाँच पटक फाइनलमा पुगेको छ । भुटान भने सागको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको हो ।

यसअघि  नेपालले भुटानलाई ४-० गोलले पराजित गरेको थियो । भुटानले जारी सागमा बंगलादेशलाई १–० ले, माल्दिभ्सलाई २–१ र श्रीलंकालाई ३–१ ले हराएर फाइनलमा आइपुगेको हो ।